अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले छोडेर प्रभू साहको पार्टीमा प्रवेश गरेपछि मेयर रिना साहको पद रिक्त

एमाले छोडेर प्रभू साहको पार्टीमा प्रवेश गरेपछि मेयर रिना साहको पद रिक्त


काठमाडौं-निर्वाचन आयोगले राैतहटकाे माैलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहकाे पद रिक्त भएकाे जनाएकाे छ। एमाले पार्टीबाट निर्वाचित साह अन्य दलमा प्रवेश गरेपछि उनकाे पद स्वतः रिक्त भएकाे सूचना आयाेगले आज प्रकाशन गरेकाे हाे।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित साह अन्य दलमा प्रवेश गरेकाे भन्दै एमालेले पद खारेजीका लागि आयाेगमा निवेदन दिएकाे थियाे । एमालेले दिएकाे उक्त निवेदनमाथि छानबिन गरी आयाेगले नगर प्रमुख साहकाे पद स्वत: रिक्त हुने जनाएकाे हाे।

पद खारेजीमा परेकी साह आम जनता पार्टीका नेता प्रभु साहकी श्रीमती हुन् । स्थानीय तहकाे चुनावका बेला प्रभु साहले मधेशमा एमालेबाट विद्राेह गरेका थिए । पछि उनले एमाले त्याग गरी आम जनता पार्टी गठन गरेका थिए।

नगर प्रमुख साहले पनि पार्टीकाे नीति र निर्णयभन्दा बाहिर गएकाे भन्दै एमालेले पद खारेजीका लागि आयाेगमा निवेदन दिएकाे थियाे। निर्वाचन आयाेगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम साहकाे पद स्वतः रिक्त भएको जनाएकाे छ। 

‘पार्टीको निर्णय आएपछि आयोगले रिक्त भएको जानकारी गराएको हो’, आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो।