काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिने बताउनु भएको छ।
बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकमा उहाँले सो कुरा बताउनुभएको हो।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै हिंसा थालेको दिन उत्सवको रुपमा मनाउन नसकिने बताउनुभयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘सहमतिका साथ शान्ति प्रक्रिया टुंगो लगाउनुपर्छ। सर्वोच्च अदालतलगायतका आदेश मानेर तथा पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रिया टुंग्याउनुपर्छ।’
उहाँले भन्नुभयो, ‘पीडितलाई केन्द्रमा राखेर कानूनहरु पनि बन्नुपर्छ। त्यत्रो पीडा भोगेर आए अझै पनि पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिर्णत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न सकिँदैन। मिल्दैन, पीडितलाई न्याय दिनेगरी गर्नुपर्छ।’
हिंसा सुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने उहाँको भनाइ छ । हिंसा मच्चाउने र अन्याय गर्नेहरु आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुंग्याउन लागेको उहाँले टिप्पणी गर्नुभयो । क्रुर हत्या गर्नेहरुका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको उहाँले चर्चा गर्नुभयो। हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउने प्रवृत्तिबाट शान्ति प्रक्रिया टुंगिन नसक्ने उहाँको बुझाइ छ । शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी मात्र टुङ्गिनुपर्छ अन्यथा हुँदैन उहाँले भन्नुभयो ।
‘गंगा अधिकारी (गोरखा) अहिले पनि अनसनमै हुनुहुन्छ। उहाँको श्रीमानको लाश अस्पतालमा छ। त्यो लाश उठाउन कुनै ध्यान छैन सरकारको’ अध्यक्ष ओलीले भन्नुभयो, ‘उहाँको छोरोलाई पनि माओवादी कार्यकर्ताले मारेका छन्, त्यो मुद्दा चलाइएको छैन । कसरी न्याय हुन्छ ?’ यस्तो मनोदशाले शान्ति प्रक्रिया सफल कसरी होला ? उहाँले जिज्ञासा गर्नुभयो ।

अध्यक्ष ओलीले सरकार संविधान मिच्ने र अहंकार देखाउने काममा लागेको टिप्पणी गर्नुभयो। स्वेच्छाचारी राज चलाउने, बलमिच्याइँ गर्ने कुरामा अहिलेको सरकार लागेको छ भन्नेकुरा रिगल ढकाललाई सर्वोच्च अदालतले आज दिएको आदेशले पुष्टि गरेको अध्यक्ष ओलीले बताउनुभयो। जनतालाई त्रसित बनाउने, दुःख दिने काममा सरकार लागेको उहाँको आरोप छ।
उहाँले भन्नुभयो, ‘सरकारले देशमा संविधान मिच्ने, आफूसँग गठबन्धनको बहुमत छ भन्ने अहंकार देखाइरहेको छ। अदालतले पटक पटक सचेत गराउँदा पनि नमान्ने, कानुनी राज होइन, स्वेच्छाचारी राज चलाउने, बलमिच्याइँ गर्नेजस्ता कामहरु गरिरहेको छ।’






प्रतिक्रिया