धनगढी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली पुग्नुभएको छ। बुद्ध एयरको जहाजमार्फत अध्यक्ष ओली धनगढी पुग्नुभएको हाे।
मंसीर १४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आउनु भएको हाे।
अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू आइपुग्नु भएको छ।
अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढीमा नै बस्नुहुनेछ। एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोली आउँदै हुनुहुन्छ। भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।
बैतडी जाने क्रममा अध्यक्ष ओलीले विभिन्न ठाउँमा स्थानीय जनता, कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया गर्ने, त्यहाँका विकास निर्माण र जनताका समस्याका बारेमा जानकारी लिने कार्यक्रम रहेको छ।
एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको स्थलगत भ्रमण मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गर्दैछ। मंसिर १४ गते बिहान साढे ८ बजे अध्यक्ष ओलीले राजमार्गको पश्चिमी विन्दु झुलाघाटबाट अभियानको उद्घाटन गर्नुहुनेछ। झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा नाम दिएको यो अभियानमा एमालेले मध्यपहाडका जनतासँग प्रत्यक्ष संवाद गर्ने त्यहाँका समस्या, विकास निर्माणको अवस्था आदिका बारेमा जानकारी लिने तयारी गरेको छ।
पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब १ हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्।







प्रतिक्रिया