डडेलधुरा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले बहुमत नल्याउने हो भने देश बरबाद हुने बताउनुभएको छ ।डडेलधुराको एक रेडियोलाई अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले देशलाई बरबादीबाट जोगाउन बहुमतको लक्ष्यसहित एमालेले अहिलेदेखि नै अभियान चलाएको बताउनुभयो ।
‘हामी चुनावकै बेला मान्छे मारेर,बुथ कब्जा गरेर,धाँधली गरेर चुनाव जित्न चाहँदैनौ’ अध्यक्ष ओलीले भन्नुभयो ‘जनताको मन जितेर,जनताका कुरा सुनेर हामी चुनावमा जान चाहन्छौँ । त्यसैका लागि गत वर्षको निर्वाचन सकिए लगत्तै एमाले विभिन्न अभियानहरु लिएर जनता गएको छ । ’
अध्यक्ष ओलीले मध्यपहाडीको विकासलाई कसरी अगाडि बढाउन सकिन्छ र युवाहरुको विदेश पलायनलाई कसरी रोक्न सकिन्छ भनेर मध्यपहाडी यात्राको सुरुवात गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, मध्यपहाडीको विकास कसरी अगाडि बढाउन सकिन्छ । किन युवाहरु पलायन भइरहेका छन् । युवाहरुलाई देशमै रोक्नको लागि कस्ता नितीहरु लिनुपर्ने हो । त्यसका लागि संवाद स्थानीय स्तर, महत्त्व राष्ट्रिय स्तरमा राख्न हामीले अभियान अगाडि बढाएका हौँ ।
अध्यक्ष ओलीले सुदूरपश्चिमलाई प्राथमिकतामा राख्नुपर्छ भनेर एमालेले मध्यपहाडी लोकमार्ग यात्रा झुलाघाटबाट सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम र कर्णाली राज्यको दृष्टिबाट टाढा परेका हुन् र पारिएका हुन् । एमाले सरकारमा आएपछि विभिन्न राजमार्गहरु, सहायक मार्गहरु, अस्पताल, क्याम्पस, विद्यालयदेखि करिडोर निर्माण गरेर दार्चुलासम्म बाटो पुर्यो । देशको कुनै पनि भाग, समुदाय, पेसा व्यवसायी छाडि पर्नुहुँदैन । हरेक व्यक्तिलाई अगाडि ल्याउनुपर्छ, त्यसैले सुदूरपश्चिमलाई पनि अगाडि बढाइएन भने नेपाललाई अगाडि बढाउन सकिँदैन भनेर सुदूरपश्चिमलाई प्राथमिकतामा राख्नुपर्छ भनेर झुलाघाटबाट अभियानको सुरुवात गरेका हौँ ।’
अहिलेको सरकार काम गर्ने नभई लुटेर खाने सरकार भएको अध्यक्ष ओलीले आरोप लगाउनुभयो । उहाँले आफू सरकारबाट हेटेपछि देश बरबादमा परेको दाबी गर्नुभएको छ । देश गरिबीतिर उन्मुख भएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले २०८४ को निर्वाचनमा एमालेले बहुमत नल्याए देश बरबाद हुने बताउनुभयो ।




प्रतिक्रिया