अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारी घटना: जाँचबुझ आयोगले भौतिकमन्त्री ज्वालालाई बयानमा बोलायो

बालकुमारी घटना: जाँचबुझ आयोगले भौतिकमन्त्री ज्वालालाई बयानमा बोलायो


काठमाडौँ-गत पुस १३ गते दुई युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारी भएको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बयानका लागि बोलाएको छ।

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्न नपाएको विषयमा भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका-१ घर भई काठमाडौं बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका घर भई भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको ज्यान गएपछि सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो।

ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा युवाहरू आन्दोलित भइरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वाला सवार गाडी पुगेको थियो। बालकुमारीबाट ग्वार्कोतर्फको आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले एकीकृत समाजादवादीको बैठकमा सहभागी हुन गएका ज्वाला सवार बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगो लगाएका थिए।

घटनाका क्रममा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो । तर उक्त घटना आफ्नो कारण नभएको भन्दै मन्त्री ज्वालाले आफूलाई जोगाउने प्रयास गर्दै आएका छन्। गत पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा ‘बालकुमारी घटना जाँचबुझ आयोग, २०८०’ बनाइएको थियो। आयोगलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी समय दिइएको छ।

यसअघि मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएअनुसार आयोगले पुस २० गतेदेखि कार्य प्रारम्भ थालेको थियो । आयोगको कार्यालय सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा छ।


Skip This