मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी ओरालोमा भएको यात्रुवाहक विद्युतीय (ईभी) हाइस दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रहरी निरीक्षक, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन्।
समितिलाई दुर्घटनाको सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको प्रजिअ अधिकारीले जानकारी दिए। समितिले बिहीबारदेखि नै काम सुरु गर्नेछ।
प्रारम्भिक जानकारीअनुसार काठमाडौंबाट सर्लाही जाँदै गरेको उक्त हाइस बिहीबार बिहान २ बजे काठमाडौंबाट छुटेको थियो। बिहान ५ः१५ बजे देउराली पुगेको गाडी करिब ५ः४५ बजे चिसापानी ओरालोमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन र काठमाडौं पठाइएको छ भने अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
प्रजिअ अधिकारीले प्रारम्भिक जानकारीका आधारमा चालक र सवारी दुवैले पर्याप्त विश्राम नपाएको हुन सक्ने बताएका छन्। राति अबेर काठमाडौं पुगेको सवारी साधनले पर्याप्त विश्राम नगरी पुनः यात्रु लिएर फर्किनु, चालकको थकान, तीव्र गति तथा क्षमताभन्दा बढी यात्रु बोक्नुलगायत विषय दुर्घटनाका सम्भावित कारण हुन सक्ने उनको भनाइ छ।
उनले सवारी चलाउँदा मोबाइल प्रयोग गर्ने, चालकले ट्राफिक नियम उल्लंघन गर्ने तथा यात्रु बोक्ने क्रममा हुने लापरबाहीका विषयमा पनि गम्भीर समीक्षा गर्नुपर्ने बताए। चालकले नियमविपरीत काम गरेको देखिए यात्रुले समेत तत्काल प्रश्न उठाउने र खबरदारी गर्ने बानी बसाल्नुपर्ने उनले सुझाव दिए।
त्यसैगरी, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार टिकट काउन्टरमा यात्रुको नाम र ठेगानासहितको विवरण राख्नुपर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रजिअ अधिकारीले बताए। यात्रुको विवरण व्यवस्थित नहुँदा दुर्घटनापछि मृतकको पहिचान र सनाखतमा समस्या हुने गरेको उनको भनाइ छ।
दुर्घटना न्यूनीकरणका लागि मकवानपुरमा अभ्यासका रूपमा लागू गरिएको ‘टाइम कार्ड’ प्रणालीलाई काठमाडौं प्रस्थान बिन्दुदेखि नै व्यवस्थित र अनिवार्य बनाउनुपर्नेमा पनि उनले जोड दिए।
प्रजिअ अधिकारीका अनुसार पछिल्लो १३ महिनामा भीमफेदी–देउराली सडकखण्डमा तीनवटा ठूला दुर्घटनासहित अन्य साना दुर्घटना भएका छन्। यसले उक्त सडकखण्डको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
छानबिन समितिले चालकको अवस्था, सवारी साधनको प्राविधिक पक्ष, यात्रु क्षमताको पालना, रुट परमिट, सडकको अवस्था, सडक संकेत, ट्राफिक व्यवस्थापन तथा सम्बन्धित निकायको जिम्मेवारीलगायत विषयको अध्ययन गर्नेछ। समितिको प्रतिवेदनका आधारमा दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



प्रतिक्रिया