अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पातीहाल्नेमा हिउँ खेल्नेको भीड

पातीहाल्नेमा हिउँ खेल्नेको भीड


बागलुङ-बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ। बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो।

बागलुङबाट मात्रै होइन, पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न मानिसहरु यहाँ आएका छन्। भारी हिमपातका कारण तीनसम्म पनि यस क्षेत्रमा हिउँ पग्लिएको छैन। हिउँ खेल्न पातीहाल्ने हिँडेका सबै पर्यटक अत्यधिक हिमपातले सडक अवरुद्ध हुँदा त्यहाँ पुग्न सकेका छैन। 

निसीखोला गाउँपालिकाले शुक्रबार र शनिबार दुई दिन मेसिन लगाएर सडक खुलाएपछि केही पर्यटक पातीहाल्ने पुग्न पाए। पर्यटकहरु पातीहाल्नेसँगै तिलाचन र रिगतालसम्म पुगेका छन्।  पातीहाल्नेबाट करिब आधा घण्टाको पैदल यात्रामा तिलाचन र १५ मिनेटको पैदल यात्रामा रिगताल पुग्न सकिने निसीखोला–६ का स्थानीय वीरबहादुर विकको भनाइ छ। शुक्रबारदेखि दैनिक चार सयको हाराहारीमा पर्यटकहरु पातीहाल्नेतर्फ लागेको उहाँले बताउनुभयो। 

'पोहोर परारतिर यतिको मान्छे आउँदैनथे, अहिले त टाढा–टाढाबाट गाडी लिएर आएका छन्', उहाँले भन्नुभयो, 'आज विहानदेखि पातीहाल्नेमा हिउँ खेल्नेको भिड छ।' 

गुल्मीको मुसिकोटबाट हिउँ खेल्न आउनुभएका अभय घिमिरेले पहिलो पटक यही आएर हिउँ देखेको बताउनुभयो। 'बुटवलबाट घर आएको बेलामा साथीहरुसँग पातीहाल्नेमा आउने मौका जु¥यो', उहाँले भन्नु्भयो, 'हामी आउँदा सडक सजिलो भएकाले समस्या भने भएन।'

उहाँले पहिलो पटक हिउँमा खेल्न पाउँदा निकै रमाइलो लागको अनुभव सुनाउनुभयो। 'बागलुङ र रुकुमको सिमानामा धेरै मान्छेहरु घुम्न जान्छन् भन्ने सुनेको थिए तर यसपाली यहाँ आउने सपना पूरा भयो, त्यसमाथि हिउँसँग रमाउँदा निकै मज्जा लाग्यो', उहाँले भन्नुभयो।

बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब ४२ किलोमिटर पश्चिममा रहेको पातीहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छ। पक्की लोकमार्ग हुँदै यहाँ पुग्न करिब ४० मिनेट लाग्छ। हिमपातपछि पातीहाल्ने क्षेत्र निकै सुन्दर देखिएको रोल्पाको उवाखोलाबाट आउनुभएका महेश बुढाथोकीले बताउनुभयो। आफू यसभन्दा पहिले पनि पातीहाल्ने हुँदै धेरै पटक यात्रा गरेको स्मरण गर्दै उहाँले हिमपातले यहाँको सुन्दरता बढाएको बताउनुभयो।