अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव हुने

झापामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव हुने


झापा- झापा जिल्लाको कनकाई नगरपालिका, सुरुङ्गामा यही फागुन १४, १५ र १६ गते ‘कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव’ हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाले आयोजना गर्ने उक्त तीन दिने महोत्सवमा स्थानीय साहित्य गोष्ठी, झापा जिल्ला स्तरीय साहित्य गोष्ठी र राष्ट्रिय साहित्य गोष्ठी गरी तीन स्तरका विभिन्न कार्यक्रमहरू सम्पन्न हुने कुरा आयोजक समितिले जनाएको छ । 

स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरी समुद्घाटन हुने र राष्ट्रिय स्तरका दर्जनौँ कवि, कलाकार, हास्यकलाकार, गायक तथा संस्कृतिकर्मीहरूको उपस्थितिमा भव्य समापन गरिने उक्त महोत्सवमा हरेक दिन बिहानदेखि साँझसम्म कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक डोनेसन, राष्ट्रिय वेशभूषा प्रदर्शनी, व्यावसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण आदि कार्यक्रमहरू सम्पन्न गरिने कुराको जानकारी महोत्सव आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले दिनुभएको छ ।

स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्यसम्बन्धी बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सुरु गरिएको यस महोत्सवमा विभिन्न चरणका प्रशिक्षणात्मक कार्यक्रमहरू पनि हुने छन् । पहिलो दिन १४ गते महोत्सवको उद्घाटनपछि छ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरू लक्षित ‘कविता लेखन प्रशिक्षण कार्यक्रम’को आयोजना गरिने छ भने दोस्रो दिन १५ गते विभिन्न विद्यालयका शिक्षकहरू, स्थानीय स्रष्टाहरू तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू लक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम’को आयोजना गरिने छ । यसरी नै तेस्रो दिन १६ गते बिहान १२ वर्षमुनिका बालबालिकाका बिचमा अग्रज कविहरूद्वारा लिखित छन्दकविताहरूको वाचन कार्यक्रम राखिएको छ । यी तीनवटै प्रशिक्षणमूलक कार्यक्रमको सहजीकरण सिर्जनात्मक लेखनका केन्द्रीय प्रशिक्षक कवि तथा समालोचकद्वय प्रा.डा. देवी नेपाल र प्रा.डा. रामप्रसाद ज्ञवालीले गर्नुहुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सामाजिक कार्यहरूमा अतुलनीय योगदान दिँदै आएको रोटरी क्लबजस्तो संस्थाले साहित्यिक तथा सांस्कृतिक महोत्सव नै आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य हो । यस्तो ऐतिहासिक कार्यको प्रशंसा गर्दै र यस कार्यको अनुकरण अन्य संस्थाले पनि गर्नुपर्छ भन्ने सन्देश दिँदै विभिन्न साहित्यकार तथा संस्कृतिकर्मीहरूले खुसी व्यक्त गरेका छन् । उक्त महोत्सवलाई भव्य, सभ्य र ऐतिहासिक बनाउनका लागि झापा जिल्लाभरिका मात्र नभएर राष्ट्रिय स्तरका साहित्य, कला र संस्कृतिकर्मीहरूलाई आमन्त्रण गरिएको छ भने सहभागिताका लागि इच्छुक सबैमा सार्वजनिक आह्वान गरिएको छ ।