अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित

मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित


काठमाडौँ-काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले वाग्मती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिनुभयो।

काठमाडौंमा विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ।

मौसमविद् कँडेलले भन्नुभयो, ‘अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ।’

शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उहाँले उल्लेख गर्नुभयो । ‘भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ’, मौसमविद् कँडेलले भन्नुभयो ।

काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । आज अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भन्नुभयो, ‘आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट मात्रै उडान भइरहेको छ ।’