अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु: त्रिवि नवनियुक्त उपकुलपति बराल

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु: त्रिवि नवनियुक्त उपकुलपति बराल


काठमाडौँ-त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ।

विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि बिहीबार साँझ रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, 'विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो। यो मेरो पहिलो प्राथमिकतामा हुनेछ।'

उहाँले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उहाँले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गर्नुभयो।

'विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ', उहाँले भन्नुभयो, 'यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ।'

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गर्नुभएको थियो। नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसक्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले आजै  कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गर्नुभएको थियो। सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो।

उहाँलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उहाँको ‘करिअर’का विषयमा जानकारीसमेत लिनुभएको थियो।

उपकुलपति पदका लागि दर्खास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

Skip This