अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने

ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने


लमजुङ-लमजुङको दूधपोखरी गाउँपालिका-३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका-५ पाँचोकको बीचमा रहेको इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ। यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका साथै विभिन्न संरचना पनि निर्माण गरिने भएको हो।

दुवै गाउँपालिकाले संयुक्त बैठक बसी इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने, सातकन्यादेवी मन्दिर पुनःनिर्माण गरिने, बाइसे तथा चौबिसे राज्यकालको इलामपोखरी गढीलगायते विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार गरिएको छ। दुवै गाउँपालिकाले रु दुई/दुई लाखको लागतबाट डिपीआरको काम सुरु गर्न लागेको दूधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले बताउनुभयो। उहाँले इलामपोखरी ताल लेदो माटोले पुरिँदै गएको र सातकन्यदेवी मन्दिरमा विसं २०७२ बैशाखमा आएको भूकम्पले क्षति बनाएकाले उक्त मन्दिर पुनःनिर्माण गरेर पिकनिङ स्थल, शौचालय, खानेपानीलगायत संरचना निर्माण गरिने जानकारी दिनुभयो। 

उपाध्यक्ष गुरुङका अनुसार उक्त गढीको नजिकै एउटा स्तूपा बनाइने, इलामपोखरीदेखी माथि जोर्नीगाउँसम्म पदमार्ग निर्माण गरिने भएको छ। सातकन्यादेवी मन्दिर विसं २०६५ मा सङ्घीय सरकारको रु पाँच लाख बजेटबाट मर्मत गरिए पनि भूकम्पले उक्त मन्दिरको भित्ता छियाछिया बनाइदिएकाले पुनःनिर्माण गर्न लागिएको छ। डिपीआरबाट लाग्ने बजेट अनुमान गरी  गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसँग बजेट माग गरेर काम अघि बढाउने योजना छ । पौराणिककालको उक्त मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ।

 त्यस्तै, समन्द्री सतहदेखि दुई हजार दुई सय ६० मिटर उचाइको इलामपोखरी ताल पर्यटकीयस्थल हो। इलमपोखरीमा साउन महिनाबाहेक अन्य महिनामा बलि चढाउने गरिन्छ।  यहाँबाट सूर्योदय र सूर्यास्तदेखि नाका साथै विभिन्न हिमाल पनि देख्न सकिन्छ। यहीँबाट दूधपोखरी कुण्ड जानुपर्छ। बिचौरका दवाडी र न्यौपानेहरुले यहाँ धानको बीउ राख्नुअघि मङ्सिरमा धान काट्नुभन्दा अघि एकचोटि दूधको धारा लगाइएपछि मात्र धान काट्ने गर्दै आएकोे गाउँपालिकाले जनाएको छ। चैतशुक्ल पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्दछ। 

त्यस्तै, हरिबोधनी एकादशीमा त्यहाँका झाँक्रीले फूलमाला चढाउने गर्दछन्। यसअघि अघिल्लो वर्ष सो क्षेत्रमा गण्डकी प्रदेश सरकारले रु चार लाख खर्च गरेर त्यहाँ पुग्नेका लागि बस्न मिल्ने ठाउँ निर्माण गरेको थियो । उक्त स्थल वरिपरि जङ्गल मात्र छ। सो स्थलबाट मानव बस्ती पुग्न करिब २० मिनेट लाग्ने लाग्छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले यस ऐतिहासिक र धार्मिकस्थलको संरक्षण हुनाका साथै पर्यटक प्रवद्र्धन हुने अपेक्षाका साथ उक्त संरचना निर्माणमा दुवै गाउँपालिका लागेकोे बताउनुभयो। 

सोमबार अन्तरपालिका साझेदारीअन्तर्गत दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छबहादुर घले, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, दोर्दीका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, सबइन्जिनियर विश्वास पाण्डे, दोर्दी–५ का वडाध्यक्ष कुमराज गुरुङ, दूधपोखरी–३ का वडाध्यक्ष श्याम गुरुङलगायत टोली उक्त स्थलमा पुगी अवलोकन गर्नाका साथै डिपीआरका लागि बैठक बसेको थियो। 

Skip This