भरतपुर-नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो।
नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, स्थानीय तहका साथै सरोकारवाला निकायको एकआपसमा सहकार्य आवश्यक रहेको सभापति देउवाले बताउनुभयो। कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उहाँको भनाइ छ।
'भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउनेछ”, सभापति देउवाले भन्नुभयो। उहाँले गठबन्धनको सरकारले निरन्तरता पाउने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने बताउनुभयो।
सभापति देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै महानगरपालिकामा पर्यटकीय विकासका लागि प्रयाप्त पूर्वाधार रहेको बताउनुभयो। 'जैविक विविधता, पर्या–पर्यटन, वन्यजन्तुसम्बन्धी खेल, स्वास्थ्य, कृषि, पर्यटनको विकासलगायत विषयले भरतपर मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित भएको छ', उहाँले भन्नुभयो।






प्रतिक्रिया