अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ : विज्ञ

चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ : विज्ञ


काठमाडौँ– छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री सङ्घको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तर्क्रियामा वक्ताहरूले चीनको आर्थिक विकासले अन्य छिमेकी मुलुकलाई फाइदा पुग्ने बताएका हुन् ।

कार्यक्रममा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौड्यालले चीनले लिएको आर्थिक नीतिले विश्वलाई नै प्रभाव पार्ने बताउनुभयो । चीनमा स्थिरता र आर्थिक विकास हुँदा नेपाललाई फाइदा पुग्ने उहाँको भनाइ थियो ।

“सन् २००८ मा विश्वमा आएको आर्थिक मन्दीको बेलामा चीनले लिएको आर्थिक नीतिले विश्वको अर्थतन्त्रमा केही सहयोग पुगेको थियो, नेपाल छिमेकी मुलुक भएको कारण चीनको नीतिले नेपाललाई प्रभाव पर्दैन भन्न मिल्दैन”, उहाँले भन्नुभयो ।

कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले छोटो समयमा चीनले आर्थिक विकासमा ठूलो फड्को मारेको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सीजिन फिङको नेपाल भ्रमणले नेपालको विकासमा केही आशा जागेको उल्लेख गर्नुभयो ।

नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि वाङ सीनले तीव्र औद्योगीकरणको विकास र अनुसन्धानका कारण चीनको अर्थतन्त्रले फड्को मार्न सफल भएको बताउनुभयो । उहाँले सन् २०२३ मा चीनले विश्व अर्थतन्त्रमा ४२ प्रतिशत योगदान गरेको दाबीसमेत गर्नुभयो ।

निर्यात व्यवसायी महासङ्का अध्यक्ष शङ्कर पाण्डे, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिशचन्द्र शाह, वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुली, चीन अध्ययन केन्द्रका सचिव प्रकाशबाबु पौडेललगायतले नेपाल र चीनबीचको सम्बन्ध जुन हिसाबले विकसित हुनुपर्ने हो त्यो हुन नसकेको बताउनुभएको थियो ।

उहाँहरूले दुई देशबीच भाषाको समस्या, चीनमा व्यापारको समयमा लेनदेनको समस्या, सामान पठाउनका लागि बोर्डरमा प्रयोगशाला नहुँदा नेपाली व्यवसायीले ठूलो समस्या झेल्नुपरेको बताउनुभएको थियो । चाइना मिडिया गुप्र, दक्षिण एसिया ब्यूरोका प्रमुख चाङ युए वर्षा, नेपाल–चीन युवामैत्री सङ्घका अध्यक्ष विष्णु सापकोटाले नेपाल–चीन सम्बन्धबारे जनतामाझ रहेको भ्रम चिर्दै नेपालको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

Skip This