अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संस्थागत रुपमै माओवादी कर्णालीमा केन्द्रको सहमति लागु नगर्ने पक्षमा,भोली विश्वासको मत लिने तयारी

संस्थागत रुपमै माओवादी कर्णालीमा केन्द्रको सहमति लागु नगर्ने पक्षमा,भोली विश्वासको मत लिने तयारी


काठमाडौं- सत्ता गठबन्धनको निर्णय कार्यान्वयन गर्न कर्णालीमा समस्या यथावत रहेको छ । माओवादीको प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेपछि संस्थागत रुपमा यो निर्णय कार्यन्वयको खिलाफमा उभिएको छ ।
माओवादी संसदीय दलको बैठकले यो निर्णय गरेसँगै दिनभरी मुख्यमन्त्री राजकुमार शर्मालाई राजिनामा गराउन गरिएको प्रयास असफल भएको छ । शर्मालाई राजिनामा दिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिनुभएको थियो । शर्मालाई सहमत गराउन माओवादी कर्णाली इन्चार्ज कालिबहादुर मल्ल,स्थायी किमटी सदस्य महेन्द्रबहादुर शाही,एमाले कर्णाली इन्चार्ज लेखराज भट्ट,स्थायी कमिटी सदस्य एवं दलका नेता यामलाल कडेंल छलफलमा हुनुहुन्थ्यो ।
मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको छ ।
माओवादी नेता तथा कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने र त्यसपछि केन्द्रमा सत्ता गठबन्धनमा भएको सहमति अनुसार अघि बढ्न सकिने जानकारी दिनुभयो ।

सत्ता गठबन्धनको शीर्ष नेताहरुबीच कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । तर मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन मंगलबार प्रदेशसभाको बैठक बोलाइएको थियो । मंगलबार यस विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच दिनभरजसो छलफल भएको थियो । तर मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएपछि छलफल विना निष्कर्ष सकिएको थियो ।

त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने निर्णय गरेको हो । मंगलबार दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर बुधबार दिउँसो सार्नका लागि भनेका छन् ।