अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वभौमिकता, सीमा र पानीको विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ: शंकर पोखरेल

सार्वभौमिकता, सीमा र पानीको विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले  सार्वभौमिकता, सीमा र पानीको विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा भिनु पर्ने बताउनुभएको छ। 

बुधबार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको ‘सार्वभौमिकता: सीमा र पानी’ विषयक छलफल कार्यक्रम बोल्दै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘नेपालको सार्वभौमसत्ता, जलस्रोत उपयोग र सिमानाको प्रश्नमा नेपालका सबै राजनीतिक दल र नेपाली समाज एक ठाउँमा उभिनु पर्दछ।’

सीमाको विषयमा सबै राजनीतिक दललाई एउटै डालोमा राखेर हेर्न नहुने पनि उहाँले बताउनुभयो। सीमाको कुरा उठाएकै कारण एमालेले पार्टी विभाजनदेखि सरकार छाड्नुपर्ने सम्मको स्थिति भोग्नु परेको पोखरेलले स्मरण गराउनुभयो ।  

नेपाल भारतको सिमानामा नदीले धार परिवर्तन गर्दा पनि धेरै समस्या आएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै महाकाली भूगोलको समस्या अझ पुरानो समस्याकै रूपमा रहेको पोखरेलले स्पष्ट पार्नुभयो। अब नदीको पानी धारको परम्परागत सीमाको होइन स्थायी सीमाको बारेमा बहस अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो।  

भविष्यको लागि नेपाललाई समृद्ध बनाउने आधार जलस्रोत भएको पनि पोखरेलले  बताउनुभयो। यसमा नेपाली जनता पहिलो हकदार हुन् भन्ने कुरा बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो । ‘व्यापार प्राथमिकता होइन, उपयोग प्राथमिकता हो’, उहाँले भन्नुभयो। 

हिमालबाट बगेका नदी तराईको भूमि सिँचाइको लागि उपयोग गर्नुपर्छ भन्ने मान्यतालाई केपी शर्मा ओली नेतृत्वको सरकारले स्थापित गरेको पोखरेलले बताउनुभयो। ओली नेतृत्वको सरकारका पालामा बबई–भेरी डाइभर्सन र सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको उहाँले स्मरण गराउनुभयो ।