काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वको लागि बलिया राजनीतिक दल आवश्यक पर्दछ भन्ने चेतना नेपाली समाजमा सम्प्रेषण नगरेसम्म देशको सार्वभौमसत्ता सबल हुन नसक्ने बताउनुभएको छ।
बुधबार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको सार्वभौमिकता: सीमा र पानी विषयक छलफल कार्यक्रम बोल्दै महासचिव पोखरेलले अस्थिर राजनीति भित्र एकले अर्कालाई आक्रमण गर्ने परम्पराले नेपाली समाजलाई बिगारेको बताउनुभयो । यसको पछाडि राजनीतिक दल नै जिम्मेवार रहेका उहाँले टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा आइसके पछि राजनीतिक स्थायित्वको लागि बलिया राजनीतिक दल आवश्यक पर्दछ।’
बलिया राजनीतिक दलले नै देशको सार्वभौमसत्तालाई बलियो बनाउने उहाँले बताउनुभयो। ‘नेपाललाई आर्थिक रूपमा सबल नबनाएसम्म सार्वभौमसत्तालाई सबल बनाउन सक्दैनौँ’, उहाँले भन्नुभयो।
सार्वभौमसत्ता सम्पन्न राष्ट्रका राजनीतिक दलले देशको सार्वभौमतालाई बलियो बनाउने गरी व्यवहार गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो। ‘हामी अन्तराष्ट्रिय दृष्टिकोणले पनि सार्वभौम छौँ, संवैधानिक दृष्टिकोणले पनि सार्वभौम छौँ’, उहाँले भन्नुभयो।
नेपालको जलस्रोतको उपयोगिताको सम्बन्धनमा, कोशी, गण्डक, टनकपुर सम्झौताबाट पाठ सिक्नु पर्ने उहाँले बताउनुभयो। भविष्य सुरक्षा गर्नको लागि इतिहासको समीक्षा गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो।
नेपाल भारतको सिमानामा नदीले धार परिवर्तन गर्दा पनि धेरै समस्या आएको उहाँले बताउनुभयो। अब परम्परागत सीमाको होइन स्थायी सीमाको बारेमा बहस अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो। सीमाको विषय नेपाली राजनीतिक दलको साझा विषय बन्नुपर्ने उहाँले बताउनुभयो। यस्ता विषयमा राजनीतिक स्वार्थ राख्नु नहुने उहाँको धारणा छ।
सीमाको विषयमा सबै राजनीतिक दललाई एउटै डालोमा राखेर हेर्न नहुने उहाँले बताउनुभयो। सीमाको विषयको कुरा उठाएकै कारण एमालेले पार्टी विभाजनदेखि सरकार छाड्नुपर्ने सम्मको स्थिति भोग्नु परेको पोखरेलले स्मरण गराउनुभयो । ‘नेपालको सार्वभौमसत्ता, जलस्रोत उपयोग र सिमानाको प्रश्नमा नेपालका राजनीतिक दल र नेपाली समाज एक ठाउँमा उभिनु पर्दछ’, पोखरेलले भन्नुभयो।
भविष्यको लागि नेपाललाई समृद्ध बनाउने आधार जलस्रोत भएको उहाँले बताउनुभयो। यसमा नेपाली जनता पहिलो हकदार हुन् भन्ने कुरा बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो। ‘व्यापार प्राथमिकता होइन, उपयोग प्राथमिकता हो’, उहाँले भन्नुभयो ।
हिमालबाट बगेका नदी तराईको भूमि सिँचाइको लागि उपयोग गर्नुपर्छ भन्ने मान्यतालाई केपी शर्मा ओली नेतृत्वको सरकारले स्थापित गरेको पोखरेलले बताउनुभयो। ओली नेतृत्वको सरकारका पालामा बबई-भेरी डाइभर्सन र सुनकोसी-मरिण डाइभर्सनको काम अघि बढेको उहाँले स्मरण गराउनुभयो ।
नेपालको योजनाबद्ध विकास र सार्वभौमसत्ता रक्षामा टङ्कप्रसाद आचार्यको भूमिका उल्लेख्य रहेको पोखरेलले बताउनुभयो। उहाँलाई सम्झँदा नेपालको सार्वभौमसत्तालाई बलियो बनाउने आधार प्राप्त हुने पोखरेलले स्पष्ट पार्नुभयो।
प्रतिक्रिया