ललितपुर-नेकपा एमाले ललितपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ।
बुधबार सातदोबाटोस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत चैत्र २३, २४ र २५ गते महालक्ष्मी नगरपालिका-१ इमाडोलमा हुने अधिवेशनको तयारी पूरा भएको प्रचार उपसमिति संयोजक ब्रम्हानन्द श्रेष्ठले जानकारी दिनु भयो।
अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेदेखि राजनीतिक तथा संगठनिक प्रतिवेदन तयारी पूरा भएको प्रचार उपसमिति संयोजक श्रेष्ठले जानकारी दिनुभयो।
चैत्र २३ गते ११ बजे हुने अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनकै दिन साँझ ५ बजेबाट ७ बजेसम्म र २४ गते बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म बन्दसत्र चल्नेछ।
अधिवेशनका लागि करीब पाँच सय प्रतिनिधि चयन गरिएको प्रचार उपसमिति सहसंयोजक श्याम शर्मा बजगाइँले जानकारी दिनुभयो।
जिल्ला कमिटीको गत २०८० फागुन २३ गते बसेको दशौँ पूर्ण बैठकले जिल्लाको नवौँ अधिवेशनसम्बन्धी निर्णय गरेको थियो। अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४७५ सदस्यीय मूल व्यावस्थापन समिति गठन भएको छ।
अधिवेशनले नयाँ नेतृत्वका लागि मनोनयनलगायतका निर्वाचन प्रक्रियाका निम्ति चैत्र २४ गते साँझ ५ बजेपछिको समय तोकेको छ। सहमति नभएको खण्डमा चैत्र २५ गते विहान ८ बजेबाट भोटिङ मेसिनमार्फत मतदान गर्नेसम्मको विकल्प तयार पारिएको छ।
प्रतिक्रिया