इलाम-आगामी वैशाख १५ गते हुने उपनिर्वाचन इलाम-२ मा माओवादी केन्द्रले नेकपा एमालेका उमेद्वार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको छ। माओवादी केन्द्र इलाम जिल्ला कमिटीले इलाम क्षेत्र-२ को उपनिर्वाचनमा धिरेन्द्र शर्मा ‘रमण’लाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो।
माओवादी केन्द्रीय सदस्य तथा इलाम-२ उपनिर्वाचनका लागि सिफारिस हुनुभएका धिरेन्द्र शर्मा ‘रमण’ले केन्द्रबाट एमालेलाई सहयोग गर्न निर्देशन आएको बताउनुभयो। केन्द्रको निर्णयसँगै उम्मेदवारी नदिने उहाँले बताउनुभयो।
नेता शर्माले भन्नुभयो, ‘एमालेका उम्मेदवारलाई सहयोग गर्ने भन्ने केन्द्रबाट सर्कुलर आएको छ। त्यसैले अब हामीले उम्मेदवारी दिन्नौं। अब हामी एमालेका उम्मेदवारलाई सघाउँछौं।’
माओवादीको यो निर्णयसँगै सुहाङको जीत सुनिस्चित जस्तै देखिएको छ। एमालेका उमेद्वार सुहाङको जीत झण्डै झण्डै सुनिश्चित देखिएको स्थानीय जनताहरु बताउनुहुन्छ।
एमाले इलाम-२ का तत्कालीन सांसद तथा एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएर चुनावी अभियानमा होमिएको छ। चुनावी अभियानमा होमिएसँगै यतिबेला सुहाङ इलामेली जनताका घरदैलोमा पुगेर आफ्नो एजेण्डासहित भोट मागिरहनु भएको छ।
शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकता दिने उहाँको मुख्य एजेन्डा रहेको छ। सुहाङ नेम्वाङ भन्नुहुन्छ, ‘इलामलई चाडै समृद्ध बनाउने छु। बजेटअनुसार काम हुन सकेका छैनन्। वर्षौँसम्म काम नहुँदा जनताले दुःख पाएका छन्। सुशासनकै कमजोरीले यस्तो भएको हो। त्यसैले सुशासन अनुसार काम गर्नेछु।’
उहाँ भन्नुहुन्छ, ‘कृषिमा मल, ब्रान्डिङ र बजारीकरणसम्ममा ऐनकानुनमार्फत गर्नू भनिए तापनि काम भएको छैन। त्यो नहुनु भनेको सुशासनकै कमजोरी हो। जनतालाई अहिले सुशासनको प्रत्याभूति दिलाउनुपर्नेछ। हामीजस्तो ऊर्जावान् युवाले यो यिनै संकल्प अघि सार्नुपर्छ। सुशासनको प्रत्याभूति गराएमा मात्रै इलाम समृद्ध हुन्छ भन्ने हामीले बुझ्नुपर्छ। म यिनै कुरा लिएर जनताकहाँ गएको छु।’
स्वर्गीय पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नं २ बाट ३० हजार २० मत ल्याएर विजयी हुनुभएको थियो। उहाँ प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गर्नुभएको थियो।
प्रतिक्रिया