अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बाहेक कुनै पनि पार्टीले आफ्नो आम्दानी खर्च सार्वजनिक गर्दैनन्: कैलाशप्रसाद ढुङ्गेल 

एमाले बाहेक कुनै पनि पार्टीले आफ्नो आम्दानी खर्च सार्वजनिक गर्दैनन्: कैलाशप्रसाद ढुङ्गेल 


रामेछाप-नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले नेकपा एमाले जनआधारित कार्यकर्ता बेस पार्टी भएको बताउनुभएको छ।

नेकपा एमाले जिल्ला कमिटी रामेछापको १०औँ पूर्ण बैठकलाई बिहीबार मन्थलीमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले एमालेका सबै कार्यक्रम खुल्ला र सबैले थाहा पाउने हुने बताउनुभयो।

नेपालका राजनीतिक पार्टीमा नेकपा एमाले मात्रै आफ्नो पार्टीको खर्चको अडिट गर्ने पार्टी भएको ढुङ्गेलले बताउनुभयो। एमालेको वडादेखि केन्द्रसम्मको खर्चबर्च अडिट हुने उहाँले जानकारी दिनुभयो। ‘एमाले बाहेक अरू कुनै पार्टीले आफ्नो आम्दानी खर्चको लेखा परीक्षण गर्दैनन्, खर्चबर्च देखाउँदैनन्, आफ्नो खर्चबर्च अडिट गरेर सार्वजनिक गर्ने एक मात्र पार्टी नेकपा एमाले हो’, उहाँले भन्नुभयो।

आर्थिक व्यवस्थापनमा नेकपा एमाले रामेछाप र मकवानपुर जिल्ला पार्टी सबैभन्दा राम्रो भएको उहाँले बताउनुभयो। पार्टीको लेखा आयोगले नै वाग्मतीका दुई जिल्लाई आर्थिक व्यवस्थापनमा उत्कृष्ट जिल्ला घोषणा गरेको उहाँले जानकारी दिनुभयो।

ढुङ्गेलले जिल्लाको नयाँ नेतृत्व चयनका लागि अधिवेशन घोषणा भएकोले स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नुभयो। सकेसम्म सर्वसम्मति र नभए पनि स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्ने तयारीमा लाग्न ढुङ्गेलले सुझाव दिनुभयो।

रामेछापको नवौँ जिल्ला अधिवेशन आगामी वैशाख २६, २७ र २८ गते हुने भएको छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।