अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा केवलकार निर्माणका पक्षमा ताप्लेजुङमा जनप्रदर्शन : तत्काल शिलान्यास गरेर काम अघि बढाउन आग्रह

पाथीभरा केवलकार निर्माणका पक्षमा ताप्लेजुङमा जनप्रदर्शन : तत्काल शिलान्यास गरेर काम अघि बढाउन आग्रह


ताप्लेजुङ — लामो समय देखि एक पक्षीय रुपमा पाथीभरा केवलकार निर्माणको विरोध भइरहेकोमा आज जिल्लाले विकासको ठूलो परियोजना गुमाउन लागेको भन्दै निर्माणको पक्षमा आज शक्ति प्रदर्शन भएको छ । नागरिक समाजका नाममा आज सदरमुकाम फुङलिङमा विशाल शक्ति प्रदर्शन भएको छ । आजको कार्यक्रमको तयारीका लागि केही समय पहिले नै नागरिक समाजको तर्फबाट ५ सय एक सदस्यीय दबाव समुह निर्माण गरेर शक्ति प्रदर्शन गरिएको थियो ।
पाथीभरा लिम्वूहरुको मुन्धुमीस्थल भएकाले निर्माण गर्न नहुने भन्दै अवरोध सृजना भइरहेको बेला पदम चेञ्जी मावो लिम्वू संयोजक र प्रकाश मादेन लिम्वू सहसंयोजक रहेको केवलकार निर्माण सहयोग समिति गठन गरिएको छ ।
शनिबार लिम्वू समुदायमा बजाइने च्याब्रुङ, लिम्वू बिजुवाहरुको झाँक्री, नौमती प्रस्तुत गर्दै नगर परिक्रमा गरिएको थियो । र्‍यालीमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा लगायतका जनप्रतिनिधि पनि सहभागी थिए । र्‍यालीलाई सम्वोधन गर्दै संविधान सभाका सदस्य एबं एमाले जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र थेवेले प्रविधिको युगको बिकास भइरहँदा र समाज आधुनिकतातर्फ उन्मुख रहेको बेला यस्ता अवरोधहरु सृजना हुन नहुने र समझदारी कायम गर्नुपर्ने वताए ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले वुढापाका, वालवालिकाका लागि सहज हुने र आम नागरिकको माग केवलकार भएकाले निर्माणमा अवरोध गर्न नहुने र निर्माणको वातावरण राज्यले वनाउनु पर्नेमा जोड दिए ।

निर्माण अनुमति दिँदासम्म कोही कसैले विरोध नगर्ने अहिले अध्ययन लगायतमा करोडौं खर्च भएपछि बिरोध गर्नु उचित नहुने नगर प्रमुख मादेनको तर्क छ । मादेनले पाथीभरालाई किरॉतहरुको धार्मिक स्थल भनिएपनि त्यो नभएको दाबी गरे ।

‘महागुरु फाल्गुनन्द अहिंसावादी हुनुहुन्थ्यो, हत्या हिंसा गर्नुहुॅदैन भनेर अभियान चलाउने अभियन्ता हो, उहाँलाई राज्यले राष्ट्रिय विभुतिपनि घोषणा गरेको छ,’ मादेनले थपे, ‘पाथीभरा उत्पत्ति देखिनै भोग खाने देवी हो, अहिले किराँत धर्मावलम्वी हाम्रो मुन्धुमीस्थल हो भन्छन्, काटमार भएको वली दिएको ठाउँ कसरी किराँत धर्मावलम्वीको हुनसक्छ रु’

आधुनिक समयको विकासमा अवरोध सृजना नगर्न मादेनले आग्रह गरे । हिडेर जानेका लागि पैदलमार्ग राम्ररी बनाउने र केवलकारमा जानेका लागि पनि अवसर दिनुपर्ने उनको तर्क छ ।

गृह मन्त्रालयले निर्माणस्थलमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने निर्णय गरेर पनि नराखेकोमा मादेनको आपत्ति छ । ‘मन्त्रिपरिषदले निर्माणस्थलको जग्गा दिएको छ, कम्पनीले त्यो वापतको जग्गा सरकारलाई फिर्तापनि गरेको छ,’ मादेनले कार्यक्तममा भन्नुभयो ‘अनुमति दिन्छ अनि सुरक्षाचाँहि दिदैन, उद्यमीहरुले कसरी लगानी गर्ने ।’

सरकारले सुरक्षा देओस् र राज्यको सुरक्षामा सहज निर्माण होस् भनेर आफूहरु मौन बसेको निर्माण सहयोग समितिका पदम लिम्वू बताउँछन् । एक दुईजनाले बिरोध गर्दा सरकार पछि हट्ने हो भने आफूहरु अगाडि बढेर निर्माणमा सहयोग गर्ने उहाँले चेतावनी दिनुभयो ।

उद्योग वाणिज्य संघ, निर्माण ब्यवसायी संघ, होटल ब्यवसायी संघले निर्माणका लागि वातावरण बनाउन सरकारलाई यसअघिनै विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

२०७४ देखि चर्चामा रहेको केवलकार निर्माण रोकेर, दुई चार जनाले चोकमा भ्रम छरेर निर्माण कार्यमा अवरोध गर्नु जायज नहुने वाणिज्य संघका कार्यवाहक अध्यक्ष दावा शेर्पाले बताउनुभयो । ‘उहाँहरुले नै पहिला पाथीभरासँगै मुक्कुमलुङ राख्न माग गर्नुभयो, कम्पनीले नाम राखिदियो, फेरी अवरोध गर्नु भएननी,ु दावाको तर्क छ ।

यसअघि बेसक्याम्प स्थापनाका लागि सशस्त्र प्रहरीको टोली काफ्लेपाटी पठाइएको थियो । केवलकार खारेजी संघर्ष समिति, मुक्कुमलुङ संघर्ष समिति लगायतको अवरोधका कारण प्रहरी टोली सदरमुकाम फुङलिङ फर्किएको छ ।

सरकारले निर्णय गरेर पनि प्रहरी टोली पठाउन नसकेको र सुरक्षा दिन नसकेको गुनासो स्थानीयको छ ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न पैदलयात्रीले जाँदा र फर्किंदा १० किलोमिटर हिड्नुपर्छ ।
पाथीभरा केवलकार कम्पनीले निर्माण सुरु गर्ने तयारी गरेकोमा केही स्थानीयवासीको अवरोधले ढिलाइ भइरहेको छ । केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकाल सबैपक्षसँगको सहमतीमा यथासक्य चाँडो केवलकारको शिलान्यास गरिने बताउनुहुन्छ ।