ओखलढुंगा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्न तम्सिने अनि प्रतिस्पर्धाबाट प्राप्त परिणमलाई स्वीकार गर्न नसक्ने रोग एमालेमा देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
् ओखलढुंगा जिल्लाको दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको छ । ‘प्रतिस्पर्धा गर्ने अनि प्रतिस्पर्धाको परिणमलाई स्वीकार गर्न गाह्रो मान्ने तपाईँहरुको रोग प्रदेश, जिल्लामा नसरोस्,’ पोखरेलले भन्नुभयो, ‘प्रतिस्पर्धा गर्नुभयो भने परिणाम आइसकेपछि विजयी बन्नेलाई विजयी बन्न नसकेका साथीहरुले सबै भन्दा पहिला आएर माला र खादा लगाउने सक्ने हुनुहोस् ।’
उहाँले प्रदेश र जिल्लाका अधिवेशनहरुमा आएका अतिथिहरु खेलाडी भएर होइन रेफ्रिको भूमिकामा देखिनु पर्नेमा पनि जोड दिनुभयो । ‘आज ओखलढुंगा जिल्लाको दसौं अधिवेशनमा म प्रमुख अतिथिको रुपमा उपस्थित भएको छ । यो मेरो जन्मभूमि जिल्ला पनि हो । म आफ्नै जन्मभूमिको अधिवेशनमा आउँदा खुशी छु । म यहाँ खेलाडी भएर आएको छैन,’ उहाँले भन्नुभयो, ‘अरु साथीहरु पनि यहाँ खेलाडी भएर होइन रेफ्रिका रुपमा आउनु भएको छ । खेलाडीले कहिलेकाँही यसो कुहिनु हाँन्दा पनि छुट पाउँछ । कुद्दाकुद्दै कुहिनु लाग्यो भन्न पाउँछ । कुद्दाकुद्दै यसो छिर्के लगाउन पनि पायो । तर, हामी त्यसो गर्दैनौँ ।’
उहाँले तुलनात्मक रुपमा विचारमा प्रष्ट भएको, संगठन निर्माण र परिचालनमा अनुभव भएको, जनताले पत्याएको र चिनेको, भोलि जनताले भरोसा गर्नेलाई छान्न पनि निर्देशन दिनुभयो । उहाँले करप्टेड र फ्रस्टेटेड मान्छे एमाले हुन नसक्ने पनि बताउनुभयो । एमालेभित्र कोही करप्टेड र फ्रस्टेटेड मान्छे छ भने त्यो एमाले हुन नसक्ने उल्लेख गर्नुभयो । करप्टेड र फ्रस्टेटेडबाट पार्टी बचाउनपर्नेमा उहाँले जोड दिनुभयो । एमाले पार्टीको झण्डा उठाएर, टोली लगाएर अनेक खालका विचौलिया, अनियमितता, बेथितिको काम गर्छ भने त्यो एमालेलाई नचाहिँने र कोही झक्किएर करप्टेड भए त्यो पार्टीमा नरहने स्पष्ट पार्नुभयो । उहाँले फ्रस्टेटेड भएर पनि पार्टी निर्माण गर्न नसकिने पनि उल्लेख गर्नुभयो ।
नेकपा एमालेका स्थायी कमिटी शेरधन राईले पार्टीमा देखिएका चुनौतिहरुलाई सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पनि प्रतिस्पर्धामा हारेपछि सबै भन्दा पहिला विजयी हुनेलाई विजयको माला पहिराउने संस्कारको थालनी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्व सांसद यज्ञराज सुनुवारले पार्टीलाई अझै बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्यहरु किशोर अधिकारी, खगेन्द्र राई, पूर्व प्रदेश मन्त्री अम्बिरबाबू गुरुङ, केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेललगायतले पनि कार्यक्रममा सम्वोधन गर्नूभएको थियो ।
प्रतिक्रिया