अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सरकार गठनका लागि प्रदेश कोशी प्रमुख समक्ष एमाले-माओवादीको पत्र

नयाँ सरकार गठनका लागि प्रदेश कोशी प्रमुख समक्ष एमाले-माओवादीको पत्र


काठमाडौँ-नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान गर्न कोशीका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आग्रह गरेका छन्। उहाँहरूले संविधानको धारा १६८ को २ अनुसार आव्हान गर्न  बुधवार दिउँसो प्रदेश प्रमुखलाई लिखित पत्र बुझाएका छन्।  पत्र बुझेपछि प्रदेश प्रमुखले संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने जवाफ दिनुभएको एक नेताले बताउनुभयो।

बुधवार एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण मङ्गलवार राति नै पदमुक्त भएको जिकिर गरेका छन्। उहाँहरूले अब नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन्। 

‘अब यो पत्रलाई आधार मानेर नेपालको संविधान, प्रचलित ऐन कानुन र अभ्यासलाई मध्यनजर गर्दै हामीले अध्ययन गर्नुपर्ने हुनाले  केही समय लाग्ने प्रदेश प्रमुखले सङ्केत गर्नुभएको स्रोतले बतायो। 

सत्ता  साझेदार दलहरू एमाले र माओवादीले केदार कार्की नेतृत्वको सरकारबाट गत चैत २६ गते समर्थन फिर्ता लिएका थिए ।  सत्ता सहकार्यबाट हात झिकेको मङ्गलवार एक महिना नाघेको छ।  

संविधानको धारा १८८ को उपधारा २ अनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने भन्दै प्रदेशसभाले सङ्कल्प प्रस्ताव नै पारित गरिसकेको अवस्थामा मुख्यमन्त्री कार्की भने अझै टसमस हुनुभएको छैन। विश्वासको मत पनि नलिने, राजीनामा पनि नदिने भन्ने पुरानो रटानमा  हुनुहुन्छ मुख्यमन्त्री।  बुधवारै एमाले र माओवादी केन्द्रले बैठक गरी सरकार गठन अघि बढाउनका लागि प्रदेश प्रमुखलाई दबाब दिने निर्णय गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानमा गत ७ वैशाखमा प्रदेशसभाको विशेष अधिवेशनले सङ्कल्प प्रस्ताव पारित गर्दै मुख्यमन्त्रीलाई संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिन निर्देशन दिएको थियो । ‘यो उपधारामा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

२०८० असोज २८ मा संविधानको धारा १६८ को उपधारा (५) अनुसार एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । पछि माओवादीका १३ र काँग्रेसका अन्य २१ सांसदले पनि कार्कीलाई विश्वासको मत दिएका थिए ।

हाल  प्रदेशसभाका ९३ सांसदमध्ये काँग्रेसका २९ र एकीकृत समाजवादीका ४ सहित ३३ सांसदको मात्र कार्कीलाई समर्थन छ । एमालेका ३९, माओवादीका १३, जनता समाजवादीका १ सहित ५३ सांसद उहाँको विपक्षमा उभिएका छन । बहुमतको लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।

प्रदेशसभाबाट सङ्कल्प प्रस्ताव पारित भइसकेको अवस्थामा अझै सरकारमा बसिरहन मुख्यमन्त्रीले नमिल्ने काँग्रेसको  समेत निष्कर्ष थियो । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार अन्तिम विकल्पको सरकार भएको र दुई वर्षसम्म कसैले अविश्वासको प्रस्तावसम्म पेस गर्न नसक्ने मुख्यमन्त्री कार्कीको दाबी छ । 

राजीनामा पनि  नदिने विश्वासको मत पनि नलिने अडान राख्दै एक साता अघि प्रदेश प्रमुख परशुराम खापुङलाई लिखित धारणा बुझाउनु भएका  मुख्यमन्त्रीले कोशीमा नयाँ सरकार गठनको सम्भावना नभएको दाबी गर्दै आउनुभएको थियो।