अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा क्रिकेट विश्वकप छनोट प्लेअफ हुने, डिसेम्बर ४ देखि २१ सम्मको तालिका

नेपालमा क्रिकेट विश्वकप छनोट प्लेअफ हुने, डिसेम्बर ४ देखि २१ सम्मको तालिका


काठमाडौँ-नेपालले आगामी डिसेम्बर ४ देखि २१ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार प्रतियोगितामा पुरुष क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष स्थान हासिल गर्ने दुई–दुई टोली गरी कुल आठ टोली सहभागी हुनेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। त्यसैले नेपालका लागि यो प्रतियोगिता विश्वकपसम्म पुग्ने बाटो खुला राख्ने महत्त्वपूर्ण अवसर हुनेछ।

नेपालले लिग–२ मा शीर्ष चारभित्र स्थान बनाउन नसकेपछि विश्वकप छनोटको अर्को चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने भएको हो। अब घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारभित्र पर्न सके नेपालले मुख्य विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने सम्भावना कायम राख्नेछ।

यसैबीच, क्यानले नेपाल र भारत ‘ए’ टोलीबीच हुने भनिएको क्रिकेट शृंखलाको तालिका पनि परिवर्तन हुने जनाएको छ। यसअघि डिसेम्बर ९, ११ र १३ मा खेल्ने तय भएको शृंखलाको नयाँ मिति भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा निर्धारण गरिने विज्ञप्तिमा उल्लेख छ।

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमै आयोजना हुने भएपछि नेपालले घरेलु समर्थकको साथ र परिचित मैदानको फाइदा उठाउँदै विश्वकप छनोटको अर्को चरणमा पुग्ने अवसर पाउनेछ।