अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा केदार कार्कीको सरकार ढल्यो,छैटौं पटक सरकार गठनको आह्वन

कोशीमा केदार कार्कीको सरकार ढल्यो,छैटौं पटक सरकार गठनको आह्वन


विराटनगर- कोसी प्रदेशमा आठ महिना अघि बनेको सरकार ढलेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती प्रदेशसभामा रहेका सदस्यहरुको बहुमत सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । यो सँगै यस प्रदेशमा डेढ वर्षको अवधीमा छैटौं पटक सरकार गठनको आह्वान भएको हो ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गर्नुभएको छ । वर्तमन मुख्यमन्त्री केदार कार्की पनि संविधान सोही धारा बमोजिम नियुक्त हुनु भएको हो । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभाका कुनै सदस्यलाई २०८१ वैशाख २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मुख्यमन्त्री केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको हो । माओवादीले पनि कार्कीलाई विश्वासको मत दिएको थियो। गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा पनि त्यसैअनुकूलका समीकरण बन्न थालेका हुन्।

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए। कोसी प्रदेश सभा सचिवालयले २०८१ वैशाख १० गते प्रदेश सभाबाट बहुमतले संकल्प प्रस्ताव पारित गरेको र वैशाख २६ गतेको पत्रमार्फत संवैधानिक व्यवस्थाबमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएको जानकारी प्राप्त भएको जनाउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।