काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेसलाई आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोनमार्फत समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन आग्रह गर्नुभएको हो।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भन्नभयो, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ।’
प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि पार्टीका शीर्ष नेतासँग परामर्श भइरहेको भन्दै नयाँ रणनीतिका साथ आज संसद्मा जाने लेखकले बताउनु भयो । गृहमन्त्री लामिछाने पनि संसदीय छानबिन समिति गठनका लागि मार्ग प्रशस्त गर्न तयार देखिएका छन्। रास्वपाका सहप्रवक्ता मनिष झाले लामिछाने गृहमन्त्रीबाट अलग भएर संसदीय छानबिन समिति गठनका लागि तयार भएको बताउनु भयो।
सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ। आज पनि ४ बजे संसद् बैठक छ।
प्रतिक्रिया