अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन-आश्रित स्मृति सभा

मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: सुरेन्द्र पाण्डे

मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: सुरेन्द्र पाण्डे


चितवन-नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ।

तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसमा चितवनको दासढुङ्गामा आयोजना गरिएको स्मृति सभा उहाँले मदन-आश्रितले देखाएको बाटोमा हिँड्न सकेमात्र देश र जनताले परिवर्तन र सुशासनको अनुभूति गर्ने धारणा राख्नुभयो।

नेकपा एमाले चितवनको आयोजनामा भएको सभामा उपस्थित नेता-कार्यकर्ताले उहाँहरूको सालिकमा माल्र्यापणसहित श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

सो अवसरमा एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले शब्दले मदनका अनुयायी हुने होइन, कर्म, व्यवहार, आचरण र चरित्रले सबै मदनका अनुयायी बन्न सकौँ भन्नुभयो । हामीले जीवन र सिद्धान्तको बीचमा सम्बन्ध कायम गर्नेगरी राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्ने सुदृढ र निर्णायक पार्टी बनाउने सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ थियो।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जेएन थपलियाले जनतालाई जागृत बनाउँदै उहाँहरूको योगदानको स्मरण गर्दै काम गर्नुपर्ने बताउनुभयो। मदन-आश्रितले देखाएको दिशानिर्देशमा देशको राजनीति अघि बढेको भन्दै समाजवादको आन्दोलन पनि उहाँहरुको विचारमा अघि बढ्ने बताउनुभयो।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले मदन-आश्रितको विचार कहिल्यै परास्त नहुने भन्दै दासढुङ्गा घटना भएपछि जनताको बहुदलीय जनवाद नेपालीको जनता र कम्युनिष्ट आन्दोलनको मूल मर्म बनेको उल्लेख गर्नुभयो।

विसं २०५० जेठ ३ गते चितवनको भरतपुर महानगरपालिका २९ स्थित दासढुङ्गामा भएको जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो। पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुङ्गामा दुर्घटनामा परेर दुवै नेताको निधन भएको हो। जिप त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा बाँच्न सफल भएका थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन। जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ।