काठमाडौँ-नेपाल भ्रमणमा आएका बिमस्टेकका महासचिव इन्द्र मणि पाण्डेले उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ।
मंगलबार मन्त्रालयमा भएको भेटमा बिमस्टेकलाई कसरी बलियो र सशक्त बनाएर अगाडि बढ्ने विषयमा उनीहरुबिच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठले नेपाल र बिमस्टेक सहयोगलाई अझै प्रगाढ कसरी बनाउने भन्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । नेपालले प्रतिनिधि सभाबाट बिमस्टेक बडापत्र पारित गरेकोमा महासचिव पाण्डेले धन्यवाद पनि दिनुभयो।
महासचिव पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँहरुको भेटमा पनि क्षेत्रीय साझेदारीलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।
बिम्स्टेकको प्रबुुद्ध समूह बैठकको तयारी चरणमा पाण्डेको नेपाल भ्रमण भएको हो । आगामी जुन २३ देखि २५ सम्म थाइल्याण्डमा बिम्स्टेक प्रबुद्ध समूहको बैठक हुँदैछ।




प्रतिक्रिया