काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी-१ का प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका छन्। सांसद साम्पाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू संसदमा उपस्थित नभई सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिनु संसदीय अभ्यासविपरीत भएको बताएका हुन्।
सांसद राईले जनताको मतबाट निर्वाचित संसदप्रति सरकार पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै हाल संसद सञ्चालन नियमावली-२०७९ को मर्मविपरीत गतिविधि भइरहेको बताएका छन्। उनले संसदमा उठाइएका प्रश्न र सुझावलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधि सम्मत संसद् चलिरहेको छैन भन्ने पुष्टि हुन्छ। यो प्रतिनिधि सभा सञ्चालन नियमावली १५(२) को बर्खिलाप हो।’
सांसद राईले संसद जनताका सवाल उठाउने, प्रश्न गर्ने र जनहितमा कानुन बनाउने थलो भएकाले लोकतन्त्रलाई बलियो बनाउन प्रश्नोत्तर प्रक्रिया प्रभावकारी हुनुपर्ने धारणा राखेका छन्। आफूले २०८३ जेठ २८ र २९ गते उठाएका प्रश्नको हालसम्म सरकारबाट जवाफ नआएको पनि उनले बताएका छन्।
सांसद राईले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा “कालो धब्बा” का रूपमा टिप्पणी गर्दै प्रधानमन्त्रीलाई संसदमा ल्याउन नसक्नु प्रतिपक्ष दलका नेताहरूका लागि समेत नियत र जिम्मेवारीको प्रश्न भएको उल्लेख गरेका छन्। अन्त्यमा उनले “जय माटो, जय देश” भन्दै विज्ञप्ति समाप्त गरेका छन्।





प्रतिक्रिया