जनकपुर-रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा आयोजित तथ्यांक व्यवस्थापन र विष्लेषण सम्बन्धी तीन दिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी तथा ५० भन्दा बढी प्राध्यापकहरूको उत्साहजनक र सक्रिय सहभागिताले सम्पूर्ण कार्यशालालाई प्रभावकारी, उपलब्धिमूलक तथा प्रेरणादायी बनाएको छ। कार्यशालामा डेटा व्यवस्थापन, विश्लेषण, अनुसन्धान पद्धति तथा आधुनिक विश्लेषणात्मक उपकरणहरूको प्रयोग सम्बन्धी विस्तृत व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो।

समापन सत्रमा सहभागी प्राध्यापक तथा विद्यार्थीहरूले क्याम्पसलाई यस्ता अनुसन्धानमुखी तथा सीपमूलक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको थियो। साथै, बौद्धिक लेखन (एकेडेमिक राइटिङ) तथा तथ्यांकको व्याख्या (डाटा इन्टरप्रिटेसन) सम्बन्धी थप विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि सहभागीहरूले औंल्याएका छन्।
प्रशिक्षकहरुमा त्रिभुवन विश्वविद्यालयका पूर्व डिन प्रा.डा. रामप्रसाद खतिवडा र अमृत साइन्स क्याम्पसका सहप्राध्याक डा.विजयलाल प्रधानले एसपीएससबाट डाटा व्यवस्थापन र विष्लेषण गर्ने विधिबाट अध्यापक र विद्यार्थीहरुलाई अलग अलग सेसनमा प्रशिक्षण दिएका थिए । तालिममा करिब एक सय जना विद्यार्थी र ५० जना प्राध्यापक सहभागी रहेको क्याम्पसको रिसर्च मेनेजमेन्ट सेल निर्देशक उपप्राध्यापक अनुप अधिकारीले जानकारी दिए।

तालिमको समापन गर्दै क्याम्पस प्रमुख प्रा.डा. वसन्त कुमार कर्णले कार्यक्रम अनुसन्धान संस्कृति विकासतर्फको प्रारम्भिक पहल भएको उल्लेख गर्दै भविष्यमा यस्ता शैक्षिक तथा अनुसन्धानमूलक कार्यक्रमलाई अझ व्यापक रूपमा निरन्तरता दिइने बताए । उनले कार्यक्रम सफल बनाउन सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण प्राध्यापक, विद्यार्थी, सहजकर्ता तथा व्यवस्थापन टिमप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।
कार्यक्रमलाई सफल बनाउन क्याम्पसको रिसर्च मेनेजमेन्ट सेल तथा विद्यार्थी कल्याण शाखाको सक्रिय भूमिका रहेको थियो।
कार्यक्रमको उद्घाटन मधेश प्रदेशका सभामुख राम अशिष यादवले गरेका थिए।




प्रतिक्रिया