सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा नगर प्रहरीले काफल फालेर दुर्व्यवहार गरेकी महिलालाई चौतर्फी आलोचनापछि नगरप्रमुख मोहनमाया ढकालकाे ‘क्वीक रेस्पोन्स’ देखाउँदै १० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएकी छन्। सामाजिक सञ्जालमा घटना भाइरल बनेपछि नगरपालिकाले तत्काल पीडित महिलालाई राहत दिनुका साथै संलग्न नगर प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।
नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी काफल बेच्ने व्यवसायी धमिला चौलागाईलाई नगरप्रमुख ढकालले क्षतिपूर्ति उपलब्ध गराएकी छन्।
बुधबार नगरप्रमुख ढकालले चौलागाईलाई आफ्नै कार्यकक्षमा बोलाएर १० हजार रुपैयाँ राहत तथा प्रोत्साहन रकम प्रदान गरेकी हुन्।

मङ्गलबार साँझ वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले चौलागाईले डोकामा राखेर बेच्दै हिँडेको काफलको डालो जबरजस्ती घोप्ट्याइदिएका थिए। चौलागाईले आफ्नो सामान जोगाउने प्रयास गरिरहेकै बेला दुई जना नगर प्रहरीले डालो पल्टाइदिएपछि काफल भुईँभरि छरिएको थियो।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाको चौतर्फी आलोचना भएको थियो। जनस्तरबाट चर्को विरोध भएपछि वीरेन्द्रनगर नगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही गर्ने तथा पीडित महिलालाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

निर्णयलगत्तै पीडित धमिला चौलागाईलाई नगरपालिकामा बोलाएर क्षति भएको काफलको मूल्यसहित थप रकम गरी १० हजार रुपैयाँ उपलब्ध गराइएको नगरप्रमुख ढकालले बताइन्।
धमिला कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ मा बस्दै आएकी छन्। उनको करिब ७ देखि ८ सय रुपैयाँ बराबरको काफल नोक्सान भएको थियो। तर, घटनाबाट परेको मानसिक र आर्थिक असरलाई ध्यानमा राख्दै नगरपालिकाले थप सहयोग उपलब्ध गराएको जनाएको छ।
नगरप्रमुख ढकालले चौलागाईलाई सुरक्षित स्थानमा बसेर व्यापार गर्न आग्रह गर्दै आगामी दिनमा कुनै समस्या परे नगरपालिकाले सहयोग गर्ने आश्वासन पनि दिएकी छन्।
क्षतिपूर्ति पाएपछि धमिला खुसी हुँदै फर्किएकी थिइन्। साथै, बुधबार उनले ल्याएको सबै काफल नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले खरिद गरिदिएका थिए।




प्रतिक्रिया