काठमाडौं-नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन–२०८३ जेठ ८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ। सोही महाधिवेशनबारे जानकारी दिन भोलि अर्थात् जेठ ६ गते बुधबार बिहान ११ बजे काठमाडौंस्थित सामाजिक भवन, अनामनगरमा पत्रकार सम्मेलन गर्न लागेको आयोजकले जानकारी दिएकाे हाे।

‘मगरात सभ्यता सहितको समृद्ध मगर समाज’ भन्ने मूल नारासहित मगर समुदायको अधिकार, पहिचान, भाषा तथा सांस्कृतिक संरक्षणका विषयलाई थप सशक्त बनाउने अपेक्षा साथ २०८३ जेठ ८, ९ र १० गतेसम्म काठमाडौंमा भव्य रूपमा महाधिवेशनले गर्न लागेकाे आयोजकले जनाएको छ।
महाधिवेशन उद्घाटन समारोह जेठ ८ गते बिहान ११ बजे काठमाडौंमा हुने आयोजक नेपाल मगर संघ केन्द्रीय समितिले जनाएको छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक, विभिन्न जिल्लाका प्रतिनिधि तथा बुद्धिजीवी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
संघका अनुसार महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै मगर समुदायको हकहित, सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा समृद्ध समाज निर्माणका लागि आगामी कार्यदिशा तय गर्नेछ।
नेपाल मगर संघले महाधिवेशन सफल बनाउन सम्पूर्ण मगर समुदाय, शुभेच्छुक तथा सरोकारवाला निकायलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।




प्रतिक्रिया