काठमाडौं-नेकपा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पार्टीका नेता कार्यकर्तामा सृजनशीलताको आवश्यकता रहेको बताउनुभएको छ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारी सहितको शपथग्रहण कार्यक्रममा बोल्दै नेता पाेखरेलले यस्तो बताउनु भएको हो।
पार्टीलाई वैचारिक र साङ्गठनिक ढङ्गले बलियो बनाउन विभिन्न विभागहरू बनाइएको उहाँले प्रष्ट पार्नुभयो । नेता पोखरेलले विभागको कामलाई सामान्य नठान्न आग्रह गर्नुभयो।
नेता पोखरेलले पार्टीका नेताहरूले तोकिएको काम मात्र होइन पार्टीलाई बलियो बनाउन अन्य रचनात्मक काम गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेलाई राष्ट्रिय शक्ति बनाउँदा मात्र मिसन २०८४ पूरा हुने उहाँको भनाइ छ। ‘एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँदा मात्र मिसन २०८४ पूरा गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।
किसान मजदुरका एजेण्डा उठाएर एमाले राष्ट्रिय शक्ति बन्नुपर्ने उहाँले बताउनुभयो। साम्राज्यवादी र सामन्तवादीको आवाज बोक्ने होइन, एमाले श्रमिक, किसानको मुद्दा बोक्ने र उनीहरूलाई समृद्ध बनाउने पार्टी भएको पोखरेलले प्रष्ट पार्नुभयो।
एमाले सरकार बनाएर मात्र नपुग्ने बताउँदै पोखरेलले एमालेलाई सबल र सुदृढ राजनीतिक शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो। त्यसो भयो भने मात्र लोकतन्त्र र देशलाई सुदृढ बनाउन सकिने उहाँले बताउनुभयो।




प्रतिक्रिया