अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको चियापान कार्यक्रम

नेपाली कपडाको तानमा बसेर कपडा बुन्न सिकें: अध्यक्ष ओली

नेपाली कपडाको तानमा बसेर कपडा बुन्न सिकें: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चियापान कार्यक्रममा सहभागी हुनुभएको थियो।

रास्वपा पार्टीले स्थापना दिवसको अवसर पारेर चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा गरेको थियो। सो चियापान कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुभएको हो।

चियापान समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही लगायत नेताहरु पनि पुग्नुभएको थियो।

 सहभागी शीर्ष नेताहरूलाई रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने आफैँलै घण्टी बजाउन आग्रह गर्नुभएको थियो। सहभागी शीर्ष नेताहरूले गृहमन्त्री लामिछाने अनुरोध स्वीकार गर्दै घण्टी बजाएका थिए। तर, एमाले अध्यक्ष ओलीले गृहमन्त्री लामिछानेको सो आग्रह स्वीकार्नु भएन। उहाँले घण्टी नबजाई रास्वपा कार्यालय परिसरमा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ राखिएको स्टलहरूतिर लाग्नुभयो। स्टलको अनुगमनपछि अध्यक्ष ओली एउटा तान झुण्डाइरहेको ठाउँमा पुगेपछि केहीबेर तानमै बसेर कपडा बुन्ने प्रयास गर्नुभएको थियो।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा तानमा बसेर कपडा बुनिरहेको तस्बिर सेयर गर्दै लेख्नुभएको छ, ‘आज रास्वपाको चियापानमा सहभागी हुँदै गर्दा प्रदर्शनी स्थलमा नेपाली कपडाको तानमा बसेर कपडा बुन्न सिकें।’

अध्यक्ष ओलीले आफूलाई कपडा सिलाउन पहिल्यै आउने जानकारी गराउँदै केही अभ्यास गर्दा कपडा बुन्न पनि आउनेजस्तो लागेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘कपडा सिलाउन त मलाई आउँछ। अलि अभ्यास गर्दा कपडा बुन्न पनि आउँछ जस्तो लाग्यो।’