अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब बन्ने अध्यक्ष ओली नेतृत्वको सरकारलाई कांग्रेसले काँध हाल्छ: विश्वप्रकाश शर्मा

अब बन्ने अध्यक्ष ओली नेतृत्वको सरकारलाई कांग्रेसले काँध हाल्छ: विश्वप्रकाश शर्मा


झापा-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताउनुभएको छ।

झापामा आज आयोजित कार्यक्रममा उहाँले पटकपटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताउनुभएको हो।

महामन्त्री शर्माले दुवै दलको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पार्नुभयो। ‘एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ’, उहाँले भन्नुभयो, ‘त्यही सरकारले मुलुकको वर्तमान सङ्कट समाधान गर्नेमा हामी आशावादी छौँ।’

स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्नुहुँदै प्रतिनिधिसभा सदस्य शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले त्यस अवसरमा मेचीनगर–५ स्थित सिर्जना चोकमा मेचीनगर सहलगानी आयोजनाअन्तर्गत चार सय ५० घनमिटरको ओभरहेड ट्याङ्कीको आज शिलान्यास गर्नुभयो ।

उक्त आयोजनाअन्तर्गत मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआली र बाहुनडाँगी क्षेत्रमा खानेपानीका विभिन्न परियोजना सञ्चालन भइरहेका काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

ओभरहेड ट्याङ्कीसहितको परियोजना मूल्य अभिवृद्धि करसहित कूल रु १० करोड ४८ लाख १९ हजार लागतमा निर्माण हुन लागेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ग्लोबल दिपेश जेभी काठमाडौँले काम गरिरहेको छ । कूल लागतमध्ये रु एक करोड ३१ लाख काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र रु नौ करोड १७ लाख १७ हजार सङ्घीय सरकारले व्यहोर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

यहाँ चार सय ५० घनमिटर र दुई सय २५ घनमिटरका गरी दुईवटा ओभरहेड ट्याङ्की, चारवटा बोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्रणाली, ३५ किलोमिटर पाइपलाइन विस्तार र कार्यालय भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

शिलान्यास समारोहमा संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलगायतले परियोजनाको काम निर्धारित समयमै गुणस्तरीय रूपमा हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
(((