अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान संशोधन गर्न आवश्यक छ: ईश्वर पोखरेल

संविधान संशोधन गर्न आवश्यक छ: ईश्वर पोखरेल


सिन्धुली-नेकपा एमालेका कार्यवाहक अध्यक्ष इश्वर पोखरेलले विधान संशोधन गर्न आवश्यक रहेको बताउनु भएको छ।

साेमबार प्रेस चौतारी नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले संविधानको मूल मर्मलाई कुल्चिन नदिईकन सहमतिका आधारमा संविधान संशोधन हुने बताउनुभयो।

नेता पोखरेलले संघियता, गणतन्त्र, समावेशीतालाई कमजोर बनाउने, सामानुपातिक सहभागितालाई कमजोर बनाउने गरि संविधान संशोधन गर्न एमालेले नदिने बताउनुभयो।

पोखरेलले संविधान संशोधन आवश्यकता अनुसार गर्न सकिने बताउँदै संविधान जारी भएपछि गरिएका अभ्यासमा केही विवाद, समस्याहरु देखिएका कारण संविधान संशोधन आवश्यक रहेको बताउनुभयो। उहाँले संविधान संशोधन गर्दा कुन विधिबाट गर्ने र कुन-कुन विषयमा गर्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले संविधान संशोधन गर्दा नेपालका सबै राजनीतिक दलहरुसँग सहमति गरेर मात्र गरिने बताउनुभयो।

नेकपा एमाले सिन्धुलीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन आउनुभएको पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले संविधान संशोधन विशेष गरि शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायपालिकाका विषय, संवैधानिक अंगसँग सम्बन्धित विषय, स्थानीय निकाय सञ्चालन, प्रदेश संरचना लगायतका विषयमा आवश्यकता देखिएको बताएउनुभयो।

संविधान संशोधनका विषयमा दलहरु एक ठाउँमा उभिनुपर्ने बताउँदै पोखरेलले कन्टेन्ट र प्रोसेसमा कसरी जाने भनेर सहमति जुट्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘संविधानमा संशोधन आवश्यक पर्दा नेकपा एमाले खुल्ला छ। यो कुनै एउटा पार्टीको पेवा विषय हैन, छलफल गरेर अन्तरवस्तुमा पुगेर प्रक्रियाबाट निश्कर्ष निकाल्नुपर्छ।’

गठबन्धन २०८४ सम्म रहन्छ भन्ने पत्रकारहरुको प्रश्नमा पोखरेलले यो गठबन्धन देशको आवश्यकताले भएको गठबन्धन भएकाले देशको निकासका लागि रहिरहन आवश्यक रहेको सुनाउनुभयो। गठबन्धन कहिलेसम्म रहने भन्ने प्रश्न नगरि हेर्दै जान पनि उहाँले आग्रह गर्नुभयो। उहाँले अहिलेको गठबन्धन राष्ट्रिय संकट समाधान गर्न बनेको भन्दै गठबन्धन नरहेमा देशको लागि नै दुर्भाग्य हुने दाबी गर्नुभयो।