काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाउनु भएको छ।
बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले पनि अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताउनु भएको हो।
जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने तर, अनुसन्धानमा सहयोग नगर्ने प्रवृति देखिएको उहाँले बताउनु भयो। महासचिव पोखरेलले भन्नभयो, ‘जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन।’
महासचिव पोखरेलले हल्ला गरेर आफूले क्लिन चिट पाएँ भन्दै लामिछानेले अफवाह फैलाएको बताउनु भयो। उहाँले भन्नभयो, ‘क्लिन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त हुन्छ। त्योभन्दा पहिला हल्ला गरेको भरमा कसैले क्लिन चिट प्राप्त हुँदैन। जनतामा नराम्रो गरी अफवाह फैलाइयो। यो गलत हो।’
अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्न आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो।
एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालनका लागि प्राप्त गरेको समग्र पैसा (झण्डै ६५ करोड) सहकारीमार्फत प्राप्त गरेको र सहकारीले कम्पनीमा लगानी गर्न नमिल्ने कानुन रहेको यो पक्षलाई बुझ्नुपर्छ’ पोखरेलले भन्नुभयो, ‘कानुन विपरीत सहकारीको पैसा ल्याएर टेलिभिजन सञ्चालन गर्नु अत्यन्त हानिकारक छ।’
प्रतिक्रिया