अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।

नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो। तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हाे।

 राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले शिक्षकहरूको आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा ३२ दिनको ढिलाइ भएको बताउनुभयो।

गत वर्ष २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरू काठमाडौँमा सडक आन्दोलन गरेका थिए । जसका कारण उत्तर पुस्तिका समयमा परीक्षण हुन सकेको थिएन। ढिला गरी उत्तर पुस्तिका परीक्षा सुरु भएको थियो। 

उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अहिले अङ्क इन्ट्री गर्ने काम भइरहेको परीक्षा नियन्त्रक भट्टराईले बताउनुभयो। यो ढिलाइलाई कम गर्न बोर्डले रातदिन काम गरिरहेको उहाँको भनाइ छ।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए। नतिजा प्रकाशनमा भएको ढिलाइले कक्षा ११ को भर्ना प्रक्रिया पछि धकेलिने भएको छ।

बोर्डले वार्षिक कार्य तालिका अनुसार २०८२ असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने र असार २२ गतेसम्म पुनर्योग गर्ने तथा साउन १२ गते पुनर्योगको नतिजा प्रकाशन गर्ने रहेको थियो । साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गर्ने र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने कार्यतालिका थियो । तर, नतिजा प्रकाशनमा ढिलाइ हुने भएपछि अन्य कार्यक्रममा समेत ढिलाइ हुने देखिएको हो।