अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवाले देशमा नै बसेर केही गर्ने भावना बोक्नु पर्छ: मन्त्री गुरुङ

युवाले देशमा नै बसेर केही गर्ने भावना बोक्नु पर्छ: मन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा नै बसेर केही गर्न सकिन्छ भन्ने भावना बोकेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ।

तमु विद्यार्थी छोज धिको २०८१ कात्तिक २५ गतेबाट तनहुँको दमौलीमा सुरु भएको १२ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले युवाले स्वदेशमा नै बसेर काम गरे मात्र देश बन्ने बताउनुभयो। यसका लागि आत्मनिर्भरको बाटो रोज्नु पर्ने उहाँको धारणा छ। प्राविधिक शिक्षाले आत्मनिर्भर बन्न सहयोग गर्ने बताउँदै उहाँले त्यस्तो शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो । ‘देशमा नै बसेर केही गर्ने सकिन्छ भन्ने भावना बोकेर अगाडि बढ्न युवालाई मेरो आग्रह छ, त्यसका लागि प्राविधिक शिक्षा पढ्न आवश्यक छ’, उहाँले भन्नुभयो।

गुरुङले विश्वमा बाहिर गएर काम गरेर रेमिट्यान्सले मुलुक धानेर कुनै पनि देशको विकास हुन नसकेको गुरुङले बताउनुभयो। देश बनाउनको लागि देशमा नै बसेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। ‘युवाहरू यहीँ बस्नु पर्छ, म केही गर्न सक्छु, मेरो देशको लागि केही गर्छु भनेर लाग्नु पर्छ’, गुरुङले भन्नुभयो।

उहाँले भाषा र संस्कृतिको रक्षा पनि आजको चुनौती बन्दै गएको बताउनुभयो। मन्त्री गुरुङले घरमा आफ्नो भाषा बोल्ने संस्कृतिको विकास गर्न सके भाषा संरक्षण हुने प्रष्ट पार्नुभयो ।

लाहुरे संस्कृतिको कारण गुरुङ समुदाय नेपालको निजामती, राजनीति तथा अन्य क्षेत्रमा निक्कै पछि परेको उहाँले बताउनुभयो। गुरुङ समुदायका संघसंस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्नेमा उहाँले जोड दिनुभयो। ‘हाम्रो समुदायलाई नेतृत्व गर्ने ठाउँमा पुर्‍याउनु पर्छ’, उहाँले भन्नुभयो ।

जति कुरा गरे पनि नीति निर्माण गर्ने ठाउँमा पहुँच पुगेन र नेतृत्वमा पुगिएन भने त्यो समुदायको लागि अरूले काम नगरिदिने उहाँले स्पष्ट पार्नुभयो। संसारले पराक्रमी जाति भनेर पत्याएका गुरुङ जातीले देश बनाउन लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो।