काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्था स्थायी भएको भन्दै यसलाई सुदृढ गर्दै जानुपर्ने बताउनुभएको छ।
आज राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले सम्पूर्ण नेपालीको एकता नै मेलमिलाप भएको बताउनुभएको हो।
‘गणतन्त्रलाई सफल र विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ। गणतन्त्र स्थायी रहन्छ, यसलाई सुदृढ बनाउनु पर्छ। अहिले सम्पूर्ण नेपाली जनताको एकता नै मेलमिलाप हो।’ सभापति देउवाले भन्नुभयो, ‘चाहे हिमालमा हुन्, पहाड र मधेशमा हुन्, चाहे पूर्व हुन् चाहे पश्चिममा हुन् एकता कायम हुनुपर्छ। चाहना फरक होलान् त्यसमा समन्वय गर्नुपर्छ ।’
सभापति देउवाले बिपी कोइरालाको मेलमिलापको नीतिलाई प्रशंसा गर्नुभयो । सभापति देउवाले भन्नुभयो, ‘नेपाली कांग्रेसका लागि मात्र होइन, देशका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, यसमा कांग्रेसले अग्रसरता लिनुपर्छ।’ बिपी कोइराला आफूमाथि मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइएको हो।
प्रतिक्रिया