अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्थिर सरकारका लागि कांग्रेस-एमालेको समीकरण बनेको हो: शुकमाया तामाङ

स्थिर सरकारका लागि कांग्रेस-एमालेको समीकरण बनेको हो: शुकमाया तामाङ


काठमाडौं-वाग्मती प्रदेशकी उद्योग, वाणिज्य तथा भूमि प्रशासन मन्त्री शुकमाया तामाङले स्थिर सरकार नहुँदा नेपालको विकासले गति लिन नसकेको बताउनुभएको छ।

नेकपा एमाले रामेछापले आइतबार बिहान उहाँको स्वागतमा मन्थली स्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तामाङले अस्थिर सरकार विकासको बाधक हुने बताउनुभयो। ‘स्थिर सरकार नहुँदा विकासमा बाधा परेको हुनाले अहिले देशमा दुई ठुला पार्टीको समीकरणमा सरकार निर्माण भएको छ, यसलाई निरन्तर लगेर समाजमा रहेका निराशा चिर्नु पर्ने छ, समाजमा रहेका विकृति र निराशा चिर्न सकिएन भने जनतामा अझ बढी निराशा बढ्ने छ’, उहाँले भन्नुभयो।

मन्त्री तामाङले पार्टी भित्र पनि पार्टीको संस्थागत विकास भन्दा व्यक्तिको विकासमा केन्द्रित भएको भन्दै यसलाई आजैबाट अन्त्य गरी पार्टीको संस्थागत विकासमा लागिपर्नुपर्ने बताउनुभयो । ‘जबसम्म संस्थागत विकास हुँदैन, तबसम्म पार्टी बलियो हुँदैन, पार्टी बलियो नभए सरकारमा पुगिँदैन’, उहाँले भन्नुभयो।

वाग्मती प्रदेश सरकार नागरिकलाई दिन सक्ने सबै खालका सेवा दिन प्रतिबद्ध भएर लागेको पनि उहाँले बताउनुभयो । योजनाहरू योजना बैङ्कको आधारमा अघि बढ्नु पर्ने बताउँदै उहाँले चिटको आधारमा आएका योजना प्रभावकारी नभएको स्पष्ट पार्नुभयो।