अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुस्तक समिक्षा

सबैलाई आमा सम्झाउने किताब

सबैलाई आमा सम्झाउने किताब


नेकपा एमालेजस्तो विशाल पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल। देशको उपप्रधान, रक्षा, गृह लगायतका मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेको व्यक्तित्व। त्यती मात्र होइन पार्टीको सांगठनिक र जनसम्पर्कको केन्द्रविन्दु रहेको पद महासचिवको जिम्मेवारी दुई कार्यकाल भूमिका निर्वाह गरिसकेको व्यक्तित्व। एमालेको नीति अनुसन्धान विभागका प्रमुखको रूपमा पनि पोखरेलले तीन वर्षदेखि पार्टीका नीति, विचार, इतिहास आदिको निर्माण र खोदलखादल पार्ने काम गरिरहनुभएको छ।

माथिका जिम्मेवारीका सूचि पढ्दै अनुमान गर्न सकिन्छ उहाँको व्यस्त दैनिकी। अरुका लागि पनि २४ घण्टा समय। ईश्वर पोखरेललाई पनि २४ घण्टा नै। उहाँले यही २४ घण्टालाई उभारेर आफ्नी आमाको नाममा पुस्तक प्रकाशन गर्नुभएको छ– ‘आमा, सपना र ताराहरू।’ १४० पेजको यो पुस्तक पढ्न सुरू गर्दा पाठकले आफ्नी आमाको कथा पढेको अनुभुति गर्दछन्। हरेक पाठकका आमाको कथा ईश्वर पोखरेलले आफ्नी आमालाई पात्र बनाएर लेखेजस्तो महसूस गर्छन्। सरल वाक्य, गाउँले प्रस्तुति, भेगीय भाषा आदिले पुस्तकलाई धेरै जीवन्त बनाएको छ। किताब पढ्न सुरू गरेपछि कुनै पनि पृष्ठ वा अध्यायमा कुनै पनि पाठकले आलस्य महसूस गर्नु पदैन। यस्तो लाग्छ, ईश्वर पोखरेल साहित्यिक व्यक्तित्व बढी कि राजनीतिक व्यक्तित्व बढी हुन् ? किताबका पाना पल्टाउँदा पोखरेलको साहित्यिक कुशलता लोभलाग्दो गरी प्रकट भएको छ । विषयवस्तुको छनौट, तिनको जीवन्त प्रस्तुतिका कारण हरेक पाठक ईश्वर पोखरेलजस्तै बालखै भइदिन्छन् । पुस्तकसँगै ईश्वर पोखरेलजस्तै अनेक जिम्मेवारीका कारण युवा अवस्थामा आमाबाट टाढिन्छन् अनि एउटा चरण पारगरेपछि फेरि उनै आमाको काखामा लुटपुटिन पुग्छन् ।

आमासँगका २४ स्मरण र एउटा आमाको महिमा गानको कविताले बाँधिएको किताबमा लेखक पोखरेलले ओखलढुंगा जिल्लाको ठोट्ने खोला माथिको माम्खा गाउँबाट आमाको कथा सुरु गरेका गरेका छन् । २०१० साल चैत २५ गते बुधबारबाट सुरू भएको ईश्वर पोखरेलका आमा छोराको सम्बन्ध २०५६ साल मंसिर ७ भौतिक रूपमा सकिन्छ। यो पुस्तक आमा छोराको ४६ वर्षको सुखदुखको बयान हो। आमाछोराले भोगेका भुक्तमानको डायरी हो। आमाले छोराप्रति दर्शाएको माया, स्नेह र छोराले आमाप्रति गरेको श्रद्धा र ममताको शब्दरुपी बगैंचा हो यो किताव। कितावमा ईश्वर पोखरेललाई हुर्काउन आमा लालकुमारीले गरेका गरेका हजार दुखका बयान छन्। एउटी आमाले आफ्नो सन्तानको सुखका लागि कति त्याग गर्न सक्छिन्। एउटी आमाले छोराको भविष्यका लागि कति पिडा र दुखका पहाड छिचोल्ने आँट गर्न सक्छिन् भन्ने कुरा ईश्वरले पोखरेलले खररर बयान गरेका छन् । २०१८ सालमा श्रीमान गुमाएकी लालकुमारीका थाप्लामा १२ सन्तानको बोझको नाम्लो परेको थियो। पहाडी गाउँ, कुनै बेलाका महाजन भए पनि समयले त्यो महाजनीबाट पोखरेल परिवारलाई मुक्त गर्दै लगेको दुरावश्था। १२/१५ मुरी धान फल्ने खेत । त्यसैले ठुलो परिवारको पालन पोषण र शिक्षाको जिम्मा एक्ली लालकुमारीको जिम्मेवारी।

बुबा बित्दा १० वर्षको उमेरमा खेल्दै गरेका ईश्वर पोखरेलले परम्परागत प्रचलन अनुसार कसरी आमाको मन राख्न काजक्रिया गरे। मासिक श्राद्ध कसरी पार लगाए भन्ने कुरा मात्र होइन सानै उमेरमा आमालाई गया र पुनपुन जस्ता तिर्थाटन गराएर बुबालाई स्वर्गको बाटो सजिलो बनाउन पनि ईश्वरले भूमिका निर्वाह गरेका रहेछन्। गयामा श्राद्ध गरिसकेपछि आमाले ईश्वरलाई स्वतन्त्र आकासमा उड्ने बाटो खोलिदिएको आभास हुन्छ। ‘बाबु मैले गर्नुपर्ने जिम्मेवारी पुरा गरें,अब तँ ठूलो भएपछि जता गए पनि तेरा बा तरेनन् कि भनेर मैले चिन्ता लिइरहनु पर्दैन।’

आमासँगका उहाँका संवाद पढ्दा लेखकको हुर्काइ कुन वातावरणमा भएको रहेछ भन्ने पनि स्पष्ट हुन्छ । देवी देउता, भाकल कुल, पुजा, श्राद्ध आदि जस्ता समाजका परम्परा पार लगाएर नै लेखकको अहिलेको राजनीतिक उचाइ चुमेका रहेछन् । घाँस दाउरा,वश्तु भाउ आदि लेखक र लेखककी आमाले व्योहोरेकै रहेछन्। ‘बाको निधनपछिका चुनौति’शिर्षकमा बाल्याकालमा लेखक घरमा एक्लै भएको बेला पाटे बाघले कसरी बाखा्रलाई आक्रमण गरेछ भन्ने वर्णन त्रासदीपूर्ण छ । गोरुले बाख्र्रो हान्यो होला भनेर लाठीले हान्न लागेका बालख ईश्वर पोेखरेलले पाटेबाघले बाख्रो लडाइरहेको देख्दा डरले मुर्ती जस्तो उभिएको दृष्य पढ्दा डरालाग्दो तर रोचक छ। लेखकले आमाको बयान गर्ने क्रममा त्यसबेलाको पूर्वी पहाडको विकट भूगोल र विकासको अवस्था पनि चित्रण गरेका छन्। ‘रुपनालु,रुम्जाटार र आमा’ शिर्षकको संस्मरण पढ्दा रुम्जाटारमा २०१८ सालमा नै गाउँलेले श्रमदान गरेर हवाइ मैदान बनाएको प्रत्यक्ष वर्णन छ। रुम्जाटारको प्रसंग आउँदा लेखकले ‘घुमिफिरी रुम्जाटार’ भन्ने आहान कसरी चलेको रहेछ भन्ने कुरा स्पष्ट पारेको भए पढ्नलाई झनै मजा आउने थियो ।

टुहुरा र अभावबीच हुर्किएका लेखक पढ्नमा कति तेज रहेछन् भन्ने कुरा ‘माम्खा स्कूलमा एक वषर्’ पढ्दा थाहा हुन्छ । सानै देखि पढेको जनकपुरबाट बर्खे विदामा घर फर्केका लेखक साँल्दाइसँग ओखलढुंगा पुग्छन् । तर आमाको मायाले उनलाई जनकपुर फर्कने अनुमति दिदैन। ‘मलाई एक्लै छोडेर जान्छस त कान्छा ?’ भन्ने आमाको आँसु मिश्रित आवाजले लेखकपनि आमालाई अंगालो हालेर रुन थाल्छन्। उनी आमाको मायाले जनकपुर नगइ कक्षा ९ मा माम्खा स्कूलमा भर्ना हुन्छन् । पढाइमा तेज लेखकलाई कक्षा जम्प गराएर एकैचोटी १० कक्षामा राखिन्छ । तर जनकपुरबाट दाजुको निर्देशन बमोजिम टेस्ट परीक्षा पास गरे पनि पुन कक्षा १० मा नै पढ्नु पर्ने हुन्छ ।

लेखक राजनीतिमा कहिले प्रवेश गरे होलान् भन्ने जिज्ञासा किताबको सुरु देखि नै हुन्छ । तर ५६ पृष्ठमा पुगेपछि त्यो कुरा खुल्छ। लेखकले साल उल्लेख नगरे पनि घटना उल्लेख गरेका छन्। यसमा के देखिन्छ भने नेपाल भारतबिच व्यापार तथा वाणिज्य सन्धिको अवधि सकिएको,त्यो नवीकरण गर्नुपर्ने तर नगरेर नाकावन्दीतिर लागेको विरोधमा लेखक राजनीतिक मोर्चा मार्फत आन्दोलनमा उत्रिएका छन् । भारतले नेपालमा नाकाबन्दी गरेको त्यो समय २०२६÷०२७ सालमा हो । जनकपुरमा भएको सो आन्दोलनमा तीन दिन हिरासत बसेर उनलाई रिहाइ गरिएको थियो। यही विन्दुबाट ईश्वर पोखरेलको राजनीतिक यात्रा सुरु भएको देखिन्छ । त्यसपछि पुन पोखरेल पक्राउ पर्छन् । दोस्रो गीरफ्तारी आमाका कानमा पुग्छ । पछि भेट भएको बेला आमाले भनेको भनाइ पोखरेलले जस्ताको तस्तै यसरी लेखेका छन् ‘बाबु तँ त कम्निस भइस रे ,हो ?’ तर रोचक कुरा ईश्वर पोखरेलको सुरुवाती राजनीतिक झुकाव काँग्रेस निकट विद्याथी संगठन नेवि संघतिर रहेछ।

लेखकको उमेर बढ्दै जाँदा शैक्षिक योग्यता पनि बढाँउदै लगेका छन्। शैक्षिक योग्यतासँग राजनीतिक चेतना पनि बढाउँदै लगेका छन् । त्यसलाई विस्तार गर्न उनी जनकपुरबाट काठमाडौं पुग्छन् बि एड पढ्नका लागि। बि एड पढ्ने क्रममा नै रत्न कुमार वान्तवासँग लेखकको भेट हुन्छ। इलामबाट काठमाडौं पुगेका वान्तवा र लेखकको सोच एउटै थियो । मुक्तिका लागि गोलबन्द हुने । त्यही कारणले उनीहरु दुवैले स्विटजरल्याण्डका लागि पाएको छात्रवृति अस्विकार गरेर क्रान्तीमा होमिएका थिए। उता लेखकको राजनीतिक क्षितिज फराकिलो हुँदै थियो । यता आमा कहिले छोराको पढाइ सकिएला र घर आउला भनेर कुरेर बसेकी थिइन् । तर छोरो पढाइ सकेर समाज परिवर्तनका लागि भूमिगत हुन लागेको कुरा आमालाई के थाहा ? राजनीतिको अनन्त यात्रामा हिड्न लागेको कुरा लेखकले चाहेर पनि आमालाई बताउन सकेनन् । जब एक साँझ लेखक घर छोडेर हिड्ने तयारी गर्छन् आमा नजा बाबु भन्दै पछिपछि जान्छिन् । साँझमा छोरो भूमिगत यात्रामा लाग्दा पनि छोरो कहाँ गएको होला भन्ने पत्तो नपाएकी आमा नजा बाबु भन्दै पछि पछि गएको दृष्यको कारुणिक बयान पुस्तकमा छ । मानिसका लागि समय कसरी बदलिंदो रहेछ भन्ने कुरा लेखकका दुई अनुभुतिबाट स्पष्ट हुन्छ । उनै लेखक हुन् केही वर्ष पहिला आमाले भविष्य बनाउन भन्दै उनलाई जनकपुर छोडेर ओखलढुंगा फर्कदै गर्दा आमालाई रुंदै पछ्याएका थिए । केही वर्षकै अन्तरालमा उनै लेखक हुन् जसले भूमिगत हुन जाँदै गर्दा आमाले रुंदै पछ्याइरहेकी छिन् ।

लेखक भूमिगत अवस्थामा पनि आमालाई भेट्न बेला बेला झापाको चन्द्रगढी जान्छन् । राती नै आमासँग भेटेर राती नै फर्किन्छन्। एकपटक घर जाँदा चोर आएको ठानी उनलाई घर रुघाँलोले लौरो बर्साउन लाग्दा उनै आमाले कसरी जोगाइन भन्ने घटना पनि रोचक ढंगले प्रष्तुत गरिएको छ । भूमिगत कालमा मधेसमा छँदा प्रहरीबाट बच्दै संगठन गर्ने क्रममा कयौं दिन भोकै बसेका प्रसंग गाउँलेहरु आफ्नै छोरा सम्झेर खानेकुरा दिएको,प्रहरीबाट जोगाइदिएका प्रसंग पढ्दा भूमिगत कालमा नेताहरुले कसरी संगठन गरछन् । कसरी पार्टी बनाएछन् भन्ने झलकहरु झलल आउछन् ।

पुस्तकमा नेपालका कम्यूनिष्टहरुले कसरी चिनीया कम्यूनिष्टसँग सम्पर्क सुरु गरेछन् भन्ने रोचक सत्यकथा छ । तत्कालिन नेकपा मालेका महासचिव सिपी मैनालीले पोखरेललाई चीन जाने बाटो खोज्न लगाएकोले पोखरेलले सोलुखुम्बूबाट तिब्बत पुग्न सकिएला कि भनी गरेको प्रयास सफल हुन सकेन । लगत्तै उनले नयाँ बाटोको खोजी गरेर दोलखाको विगु हुँदै मैनालीसँग २०३७ साल जेठ ३ गते तिब्बत पुगेका छन् । लेकाली भूमीको पैदल यात्राका अनेक दुखमा लेखकले आमा नै सम्झेका छन् । हुँदा हुँदा राती पनि आमा आमा भन्दै चिच्याएबाट उनी आमाप्रति कति स्नेहित थिए भन्ने स्पष्ट हुन्छ । बेइजिङ पुगेपछि लेखकको छाति गर्वले फूल्छ अनि मनमनै भन्छन् ‘आमा तपाईंको छोरो देशको प्रतिनिधित्व गर्दै विदेशी भूमिमा आइपुगेको छ ।’

बालकमै रोगले च्यापेका लेखकलाई पात्ताले लेकका औतारी लामाले बचाएको प्रसँग भावुक शैलीमा प्रष्तुत गरेका छन् । अहिले पनि पात्ताले पुग्दा लेखक आमाले भनेका आफूलाई बचाउने उही औतारी लामाको कल्पनामा हराँउदा रहेछन् । माम्खाबाट नजिकै र आमाको त्यती प्यारो भएर पनि लेखक भोजपुर गोगनेमा रहेको मावली घर नपुग्नु अनौठो लाग्छ । २०७५ सालमा उपप्रधान तथा रक्षा मन्त्री भएपछि मावली नभएका मामा घरमा लेखक पहिलो पटक पुग्दछन्।

सारमा यो पुस्तक आम नेपालीका आमाहरुको प्रतिनिधी दस्तवेज हो । आम नेपाली आमाहरुको मनोविज्ञान हो । आम आमाहरुको सन्तानप्रतिको मोहको बयान हो । अनि लेखक आमा नेपाली सन्तानहरुको प्रतिनिधी हो। लेखकका वरव्यबहार आम छोराछोरीहरुको व्यबहार हो । पुस्तक पढ्दा पढ्दै लाग्छ आफ्नी आमाको कथा यसैगरी लेख्न थालीहाँलु। सबै पाठकलाई आमासँगका सम्झना विर्सना बयान गरेर लेखुँ लेखुँ लाग्ने बनाउनु,आमालाई सम्झँ सम्झुँ लाग्ने बनाउनु लेखक ईश्वर पोखरेलको ठूलो सफलता हो ।

१३६ पेज लामो आमाको बयान गरेर पनि लेखकलाई आमाको मायाको धित मर्दैन । अनि समापनमा फेरी आमा शिर्षक मै अर्को भावुक कविता लेख्छन्
मैले रुँदा,
पीडा पोख्न आमा भनें ।
अभावमा,
आवश्यकता पूरा गर्न आमा गुहारें ।
यातना र पीडामा भक्कानिएर रुँदा आमा सम्झें ।