धरान-धरानमा पानी पर्याप्त छैन तर, जति उपलब्धता छ त्यसमा नेकपा (एमाले) नेतृत्वको पूर्ववर्ति स्थानीय सरकारको योगदान रहेको कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले बताउनुभएको छ।
नेकपा (एमाले) धरान-८ अरुणटोल कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै धरान उपमहानगरमा एमाले नेतृत्वको सरकार रहेकै समयमा खानेपानी अभाव पुर्तिका लागि स्रोतहरुको पहिचान र पूर्वाधार निर्माणको काम सुरुवात गरिसकिएकाले त्यही स्रोतबाट उपलब्ध पानीले हाल धरानको खानेपानी थेगिरहेको सांसद बस्नेतले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले पानी वितरण गर्ने समयमा एमाले स्थानीय सरकारबाट बाहिरिनु परेको र त्यसैको जगमा हालका जनप्रतिनिधिले जस लिने काम गरिरहेको बताउनुभयो। थप अपुग पानीका लागि कोशी प्रदेश सरकारको तर्फबाट विश्वकर्मा मन्दिर मुनिको जंगलमा भूमिगत स्रोतको व्यवस्थापन गरिसकिएको पनि सांसद बस्नेतले बताउनुभयो ।
नेकपा (एमाले) कोशी प्रदेस सदस्य समेत रहनुभएका बस्नेतले धरान ८ नम्बर वडा भएर जाने मदन भण्डारी राजमार्ग, कोशी लोकमार्ग र लेउती सुरुङमार्ग सहितका परियोजनाले धरानलाई थप समृद्ध बनाउने वहाँले बताउनुभयो।
कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले धरान-८ स्थित अरुणटोल र दुर्गापथकोबीच बग्ने खहरेमा पुलको व्यवस्था नहुँदा अरुणटोलका बालबालिकाहरु नजिकैको जुनियरपायोनियर स्कुल जान समस्या रहेको बताउनुभयो।

विशेष अतिथि समेत रहनु भएका राईले भन्नुभयो खहरेले धरान ८ लाई विभाजन गर्नुका साथै अरुणटोल र दुर्गापथलाई दुर्गम दार्चुला र धार्चुला बनाइदिएको बताउनुभयो । स्थानीय सरकारको नजरमा नपरेका कारण खहरेले धरानलाई नै कुरुप बनाइरहेको बताउनुभयो । तीनढ्वाङ्गेले गत वर्षामा एकजनाको ज्याननै लिइसकेकोछ अव खहरेका विभिन्न स्थानहरुमा उचित पूलको व्यवस्था नगर्ने हो भने बालबालिकाहरु दुर्घटनामा पर्नसक्ने जोखिम रहेको बताउनुभयो ।

अधिवेशनमा धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले खहरेमा करिडोर बन्ने काम प्रारम्भ भएपछि करिडोरका बसोबासका स्थानीयको धेरै समस्या समाधान हुने बताउनुभयो ।
उक्त कार्यक्रममा बोन म्यारो क्यान्सर पीडित किशोर लिम्बूलाई उपचार सहयोग गरिएको छ । कार्यक्रममा उपचारका लागि ९ हजार पार्टीका नेताहरुबाट सहयोग संकलन गरि आर्थिक सहयोग गरिएको हो ।

अधिवेशनमा नेकपा एमाले सुनसरी सदस्य तथा वडा इन्चार्ज नारायण सुवेदी, नेकपा एमाले ८ नम्बर वडा अध्यक्ष लक्ष्मण दास लगायतले बोल्नु भएको थियो ।
अधिवेशनले बालिका योञ्जनको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ कमिटीको उपाध्यक्षमा नरमाया लिङ्थेप, सचिवमा पूर्णिमा तामाङ, उपसचिवहरुमा अनु श्रेष्ठ र तारा क्षेत्री रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा लक्ष्मी तामाङ, गणेश लिम्बू, फूलकुमारी तामाङ, नन्दबहादुर गुरुङ, विष्णु राई र सरशा लिम्बू चयन हुनुभएको छ ।
बालिका योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बलिन्द्र बिकले गर्नुभएको थियो ।
प्रतिक्रिया