काठमाडौं-बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ।
गृहमन्त्री रमेश लेखकका अनुसार आगामी माघ ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा सबै दलहरुको सहमतिमा अध्यादेश पारित गरिने भएको हो। ‘हामीले सबै दलहरुसँग विस्तृत छलफल गरेका छौँ र सकारात्मक निष्कर्षमा पुगेका छौँ,’ गृहमन्त्री लेखकले भन्नुभयो।

भूमिसम्बन्धी अध्यादेशको विषयमा पनि सर्वदलीय छलफल र सहमतिको आधारमा अघि बढ्ने गृहमन्त्री लेखकले बताउनुभयो।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर स्वयं उपस्थित थिए भने जनता समाजवादी पार्टी (जसपा) नेपालसँग पनि छलफल भई सहमति जुटेको गृहमन्त्री लेखकले बताउनुभयो।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी हुनुहुन्थ्यो।

संविधान संशोधनको गृहकार्यका लागि कांग्रेस–एमाले कार्यदल
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनका लागि आवश्यक गृहकार्य अघि बढाउन कार्यदल बनाउने सहमति भएको छ।
सत्तारुढ दलहरुबीच बसेको बालुवाटार बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय राजनीतिक संयन्त्रमा कार्यदल बनाउने सहमति भइसकेको जानकारी दिनुभयो। हिजो संयन्त्रको बैठक बसेको थियो। बैठकबारे गृहमन्त्री लेखक भन्नुभयो, ‘संविधान संशोधन गर्न कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेको छ। दुवै पार्टीले आ–आफ्नो तर्फबाट नाम दिन्छौं र कार्यदलले काम गर्छ।’
गृहमन्त्री लेखकले संविधान संशोधनको काम चरणबद्ध हुने भएकाले सबै दलहरुबीच सहमतिको वातावरण बनाएर अघि बढ्ने बताएका छन् । गृहमन्त्री लेखक भन्नुभयो, ‘संविधान संशोधन भोलि बिहान नै गर्छौं भन्ने काम होइन । हामी चरणबद्ध रुपमा काम गर्छौ। संविधानको सबल र दुर्वल पक्ष पहिचान गर्ने, कहाँ कहाँ परिमार्जन गर्न आवश्यक छ, त्यसको पहिचान गर्ने र अरु दलहरुसँग सहमतिको वातावरण बनाएर अघि बढाउँछौं ।’
प्रतिक्रिया