अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालका लागि सुधाकर दलेला भारतीय राजदूत नियुक्त

नेपालका लागि सुधाकर दलेला भारतीय राजदूत नियुक्त


काठमाडौं-भारत सरकारले वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। उनले कार्यकाल पूरा गरी स्वदेश फर्किएका नवीन श्रीवास्तवको स्थानमा काठमाडौंस्थित भारतीय दूतावासको नेतृत्व सम्हाल्नेछन्। दलेला नेपालका लागि भारतका २७औँ राजदूत हुन्।

भारतको विदेश मन्त्रालयका अनुसार दलेला हालसम्म विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। भारतले उनको नियुक्तिका लागि केही समयअघि नेपालको परराष्ट्र मन्त्रालयमा ‘नोट भर्बल’ पठाएको थियो। उनी चाँडै राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउने बताइएको छ।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक करिअर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए। त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनी सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतसमेत रहेका थिए।

दलेलासँग नेपाल र भुटानसम्बन्धी विषयमा काम गरेको लामो अनुभव छ। उनले सन् २००६–०७ मा भारतीय विदेश मन्त्रालयको ‘नर्थ डिभिजन’मा निर्देशक र सन् २०१६ देखि २०१९ सम्म सोही विभागमा संयुक्त सचिवका रूपमा काम गरेका थिए। उक्त विभागले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषय हेर्ने गर्छ।

त्यसैगरी, उनले सन् २००९ देखि २०११ सम्म भारतीय प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए। उक्त जिम्मेवारीमा रहँदा उनले दक्षिण एसियाली छिमेकीसहित पूर्वी एसिया, इन्डो–प्यासिफिक, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँगको सम्बन्धसम्बन्धी विषय हेरेका थिए।

आर्थिक कूटनीति तथा व्यापार नीतिमा पनि दलेलाको अनुभव छ। उनले विश्व व्यापार संगठन (डब्लूटीओ) स्थित भारतको स्थायी नियोगमा दुईपटक काम गरेका थिए। सन् २०१४ देखि २०१६ सम्म उनी डब्लूटीओका लागि भारतका उपस्थायी प्रतिनिधिसमेत थिए। त्यस्तै, सन् २०२० देखि २०२२ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा उपप्रमुख (डेपुटी चिफ अफ मिसन) का रूपमा कार्यरत थिए।

सन् २०२५ सेप्टेम्बर १ देखि आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हाल्दै आएका दलेलाले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य तथा बहुपक्षीय आर्थिक सम्बन्धसम्बन्धी विषय हेर्दै आएका थिए। उनी ब्रिक्स, आईबीएसए र भारत, इजरायल, संयुक्त अरब इमिरेट्स तथा अमेरिकाबीचको आईटूयूटू पहलका लागि भारतका ‘शेर्पा’समेत हुन्।

इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका दलेलाको नियुक्तिलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। दुई देशबीच राजनीतिक, कूटनीतिक, आर्थिक तथा विकास साझेदारीका विभिन्न विषयमा सहकार्य भइरहेका बेला नेपाल र भुटानसम्बन्धी प्रत्यक्ष अनुभव भएका कूटनीतिज्ञले भारतीय दूतावासको नेतृत्व सम्हाल्न लागेका हुन्।

यसअघि नेपालका लागि भारतका २६औँ राजदूत नवीन श्रीवास्तव सन् २०२२ जुनमा नियुक्त भएका थिए। उनले सन् २०२६ अक्टोबर १ मा आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएका हुन्।