विराटनगर-प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताउनुभएको छ। कोशी प्रदेशसभाको छैटौँ अधिवेशनको २३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई विकास र सुशासनको लागि उचित नीति बनाउन सुझाव दिनुभयो।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुरूआतको थोरै अवधिमा धेरै काम भएको स्पष्ट पार्नुभयो । व्यवस्थामा परिवर्तन आयो तर अवस्थामा परिवर्तन नआएको भाष्य गलत भएको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
कृषि, उद्योग, पर्यटन, सेवा, शिक्षा स्वास्थ्य, वातावरण र रोजगारीका क्षेत्रमा सरकारले निकै सराहनीय काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले बेरोजगारी अन्त्य गर्न उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास गर्न र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई रक्षा गर्छ भत्रुभयो ।
प्रधानमन्त्री ओलीले कोशी प्रदेश ज्ञान, सभ्यता र त्यागको भूमि भएको बताउँदै सन्तुलित वातावरण र उचित पर्यावरण बनाउन कोशी प्रदेशका हिमालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
“प्राकृतिक हिमाल र भूगोल एवं सम्पदाको धनी कोशी प्रदेश हाम्रो लागि गौरव हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जातजाति, धर्म, संस्कृति र कलाको धनी यो प्रदेशमा अनेक प्राकृतिक सम्पदा र धार्मिक आस्थाका धरोहर छन् ।” उहाँले दिगो विकास लक्ष्यमा नेपाल ४८ प्रतिशत प्रगति हासिल गरेको दाबी गर्नुभयो ।
“म शान्ति, राष्ट्रिय एकता र विकासका निम्ति अडिग छु । व्यावसायिक दक्षताको कमीका कारण नेपाली श्रमिक उचित पारिश्रमिक नपाउने कारणले वैदेशिक रोजगारमा जाने गरेका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्रमा नै सामाजिक न्याय र समानता हुन्छ एवं नागरिकको सर्वोच्चता कायम हुन्छ ।”
सरकार भ्रष्टाचारलाई नियन्त्रणको बाटोमा अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेश सरकार सक्रियता र सक्षमताका साथ अघि बढ्नुपर्ने र यसका लागि सङ्घीय सरकार सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै देशको मुहारलाई फेर्न सरकार सुशासन र समृद्धको बाटोमा तीव्र गतिमा काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया