अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेल नेतृत्वको टोलीद्वारा आन्दोलनमा क्षति भएका ठाउँको अवलोकन

एमाले महासचिव पोखरेल नेतृत्वको टोलीद्वारा आन्दोलनमा क्षति भएका ठाउँको अवलोकन


काठमाडौं-पूर्वराजाका समर्थकहरूको नाममा शुक्रबार काठमाडौंका विभिन्न ठाउँमा भएको हिंसात्मक आक्रमण भएको क्षतिको नेकपा एमालेले स्थलगत अवलोकन गरेको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले क्षति भएको संरचनाको स्थलगत अवलोकन गरेको हो। टोली आक्रमणबाट क्षति भएका एकीकृत समाजवादीको पार्टी कार्यालय, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टको कार्यालय, भाटभटेनी सुपर मार्केट तथा पत्रकार सुरेश रजकलाई आगो लगाई जलाएको घर तथा ढुंगामुढा गरेर क्षति पुर्‍याएको घरको स्थलगत अवलोकन गरेको थियो।

टोलीमा महासचिव पोखरेलका साथै पार्टी संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराई, पार्टी केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी सहभागी हुनुहुन्थ्यो।

यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी र महासचिव हीरामान लामा पनि टोलीमा सहभागी हुनुहुन्थ्यो। सो टोलीमा उद्योग व्यापार संगठनका अध्यक्ष भगीरथ सापकोटा, महासचिव बालकृष्ण सिवाकोटी तथा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला समेत सहभागी हुनहुन्थ्यो।

स्थलगत अवलोकन गर्दै महासचिव पोखरेलले शुक्रबारको घटना अत्यन्त दु:खद र आततायी घटना भएको बताउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो। महासचिव पोखरेलले घटना प्रति दुःख पनि व्यक्त गर्नुभयो।