चितवन-प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ।
चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताउनुभएको हो।
‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरुपमा लागेका छौँ । तपार्ईँहरु पनि ढुक्का साथ यस अभियानमा लाग्नुुस् । सबै मिलेर देश बनाऔँ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले गाउँगाउँमा सिंहदरबार बनाउने सोचका साथ संविधान निर्माणका समयमा स्थानीय सरकारको व्यवस्था गरेका हौँ। तपाईँहरुले अधिकार र कर्तव्यलाई मनन् गरी हामीले प्राप्त गरेको राजनीतिक व्यवस्थाको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुुहुनेछ भन्ने मैले विश्वास लिएको छुु ।’’ प्रधानमन्त्री ओलीले चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउने पनि बताउनुभयो।
प्रधानमन्त्री ओलीले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गर्नुभयो।
प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिका प्राकृतिक रुपमा निकै सम्भावना भएको पालिका भएको बताउनुभयो।
प्रधानमन्त्री ओलीले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेर गर्मीको बेला चिसो खान इच्छाकामना गाउँपालिकामा आउने सकिने बताउनुभयो।
मनकामना मन्दिर दर्शन गर्न जान आउन, इच्छाकामना मन्दिरको दर्शन नगरी मनोकामना पूरा नहुने भएकोले धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो।
कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुुख दिपकप्रसाद देवकोटालगायत सहभागी हुनुहुुन्थ्यो ।

प्रतिक्रिया