अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित


काठमाडौं-प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित भएको छ। बिहान ‘इन रुट वेदर’ का कारण अन्तरराष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट) को विमान डाइभर्ट भएको उहाँले जानकारी दिनुभयो। 

 रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन्।

वर्षा रोकिएसँगै काठमाडौँ विमानस्थलसहित काठमाडौँ बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिए। दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको छ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो। अहिले काठमाडौँ आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ। 

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोसी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।