काठमाडौं-वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रविधिको विकासले सुशासन र पारदर्शिता कार्यान्वयनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ।
सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ नयाँ प्रविधिले मुलुकको सर्वाङ्गिण विकासमा सहयोग पुगिरहेको बताउनुभएको हो।
प्रविधिको उच्चतम उपयोग गर्दै सूचना तथा सञ्चारको विकासका लागि निजी क्षेत्र, सरकार र नागरिक समाज एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। डिजिटल बागमतीका लागि आधारभुत पूर्वाधारका रुपमा रहेको डेटा सेन्टर स्थापनाका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययनको काम गरिरहेको जानकारी दिनुभयो।
प्रविधिको समुचित प्रयोग गर्दै डिजिटल वागमतीका लागि स्वास्थ्यमा टेलिमेडिसिन, यातायाततर्फ लाइसेन्स प्रिन्ट र इम्बोस्ड नम्बर अनिवार्य प्रयोगका विषय तथा सवारी अनुमति पत्र जाँचका लागि उपकरण हस्तान्तरण र अपराध नियन्त्रणका लागि डिजिटल ल्याबहरु निर्माणको काम भइरहेको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, ‘डिजिटल वागमती निर्माणका लागि प्रदेश सरकारले बुझ्ने खालको बजेटका लागि नीति आयोगले बुझिदिएमा प्रविधिका क्षेत्रमा काम गर्न सहज हुनेछ। मन्त्रालयको कार्य जिम्मेवारीमध्ये डिजिटल विषयमा सरकारले लिएको सोच छ । सरकारले सोचेअनुसार बजेट नहुँदा काम गर्न डिजिटल वागमती बनाउन समस्या रहेको छ। डिजिटल बागमतीका लागि निजी क्षेत्रसँगै सरोकारवालाले अग्रसरता लिनुपर्छ। डिजिटल वागमती बनाउन र अपरिहार्य सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु।’
उहाँले प्रदेश सरकारले डिजिटल वागमती निर्माणका प्रदेश सरकार, सरोकारवाला निकाय र सञ्चार प्रविधि क्षेत्रमा कार्यरत संघसंस्थाको सुझाव आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया