अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परिस्थिति असह्य भए तत्काल सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्छ: अध्यक्ष ओली

परिस्थिति असह्य भए तत्काल सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवश्यक परे जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई मानसिक र साङ्गठनिक रूपमा तयार रहन निर्देशन दिएका छन्।

आज काठमाडौँमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा आन्दोलन पार्टीको महत्त्वपूर्ण कार्यभार भएको बताएका हुन्।

अध्यक्ष ओलीले आन्दोलनका लागि लामो समय तयारी गर्नैपर्छ भन्ने नभएको उल्लेख गर्दै परिस्थिति असहज बने तत्कालै आन्दोलन सुरु हुन सक्ने बताए ।

‘हाम्रो पार्टीको केन्द्रीय कमिटीले हाम्रो अगाडि दुईवटा महत्त्वपूर्ण कार्यभार रहेको भनेको छ। एउटा, हामीले आवश्यकताअनुसार आन्दोलन गर्नुपर्ने हुन्छ। आन्दोलनको तयारीको मानसिकताका साथ साथीहरू सधैँ हरदम तयार हुनुहोला। आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन, परिस्थिति असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी गतिविधिका माध्यमबाट पनि सत्ता परिवर्तन हुने गरेको टिप्पणी गरे। राजनीतिक परिस्थितिले जुनसुकै मोड लिन सक्ने भएकाले पार्टीपङ्क्ति सचेत र तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले एमालेले आफ्नो राजनीतिक इतिहासमा विभिन्न चुनौती र दमनको सामना गर्दै आएको स्मरण गरे। पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गर्दै उनले अहिले पनि एमाले देशको मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति रहेको दाबी गरे।

नागरिकमा बेचैनी र निराशा बढ्दै गएको उल्लेख गर्दै ओलीले यस्तो अवस्थामा एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा अघि बढ्नुपर्ने बताए । पार्टीले जनताका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए।

केही राजनीतिक शक्तिहरू निर्वाचनलाई लक्षित गरेर पार्टी निर्माणको तयारीमा रहेको टिप्पणी गर्दै ओलीले एमाले भने पार्टी निर्माणको चरणमा नभई स्थापित र बलियो सङ्गठनसहित निर्वाचनमा होमिनुपर्ने बताए।

अध्यक्ष ओलीले पार्टीसामु आन्दोलन र निर्वाचन दुवैलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने चुनौती रहेको सङ्केत गर्दै नेता तथा कार्यकर्तालाई आवश्यकताअनुसार परिचालित हुन तयार रहन निर्देशन दिएका छन्।